काठमाडौँ । असार एक गते आएको मेलम्ची नदीको बाढीले नदी क्षेत्र वरपर रहेका शहर वस्तीलाई बगरमा परिणत बनाइदियो । उक्त बाढीले मेलम्ची खानेपानीको आयोजनामा समेत क्षति गरायो । आयोजनाको क्षति पु-याएको संरचना बनाउन काम अगाडि बढाइएको छ ।
मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कस् रहेको ठाउँसम्म पुग्न बाटो बनाउने काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम सुरु भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
स्थायी संरचनामा बाढीले असर नगरेको कारण नदीमा सङलो पानी बगेको अवस्थामा दशैं, तिहार अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउन सकिने उहाँले जानकारी दिनुभयो । सुरुङ परीक्षण पछि सुधार गर्न सुन्दरी जलबाट पसेर पनि गर्न सकिने आयोजनाको भनाइ छ ।