२०८३ बैशाख ५ शनिबार

काठमाडौं : अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि वित्तीय आवश्यकतामा उल्लेख्य वृद्धि गरेको छ । शुक्रबारदेखि लागू हुने नयाँ नियमपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुले भिसाका लागि योग्य हुन कम्तीमा २९ हजार ७१० अस्ट्रेलियन डलर बैंक बचत देखाउनु पर्ने भएको छ । आप्रवासीको संख्यामा नयाँ उचाईमा पुगेको र विद्यार्थीहरुको शोषण हुने चिन्तालाई सम्बोधन गर्ने लक्ष्यसहित अस्ट्रेलियाले विद्यार्थी भिसामा कडाई गर्न लागेको हो ।

अस्ट्रेलियाले भिसाका लागि आवश्यक बैंक ब्यालेन्स रकम करिब सात महिनामा दोस्रो पटक वृद्धि गरेको हो । यसअघि गत अक्टोबरमा पनि आवश्यक बैंक बचत २१ हजार ४१ बाट बढाए र २४ हजार ५०५ अस्ट्रेलियन डलर बनाएको थियो । यो परिवर्तन विद्यार्थी भिसा नियमहरु कडा गर्न अपनाइएका व्यापक प्रयासहरुकै एक हिस्सा हो ।

अस्ट्रेलियाले सन् २०२२ मा कोभिड–१९ प्रतिबन्धहरु हटाउँदा आप्रवासीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको थियो । जसले पहिलेदेखि नै चापमा रहेको आवास (रेन्टल) बजारलाई थप दबाब दिएको छ । विद्यार्थी भिसामा कडाई गर्न अस्ट्रेलियाले गत मार्चमा अंग्रेजी भाषा आवश्यकताहरु पनि बढाएको थियो ।

अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको प्रमुख योगदान रहेको छ । सन् २०२२–२३ मा यसले अर्थतन्त्रमा ३६ अर्ब अस्ट्रेलियन डलर योगदान गरेको थियो । यद्यपि, पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थीहरुको नेतृत्वमा आप्रवासीहरुको संख्यमा तीव्र वृद्धिका कारण देशभर भाडा लागत बढेको छ । सरकारी तथ्यांकअनुसार सन् २०२३ सेप्टेम्बर ३० मा समाप्त भएको वर्षमा खुद आप्रवासीहरुको संख्या ६० प्रतिशतले बढेर रेकर्ड ५ लाख ४८ हजार ८०० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर