
काठमाडाैं । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति साढे १४ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको २०७७ देखि ८० असारसम्मको वार्षिक तथ्यांकमा आधारित सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले निक्षेप परिचालन गर्ने क, ख, ग वर्गका वित्तीय संस्थाको वासलातको आधारमा वित्तीय सर्वेक्षण तयार पारेको हो ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षणले यस्तो देखाएको हो । विभागका एक अधिकारीले बैंक तथा वित्तीय संस्थाको विदेशी बैंकमा बचत बढेको देखिएको बताए । विशेष गरी विदेशी मुद्रा,एलसी खोल्नुपर्ने रकम लगायत विदेशी बैंकमा जम्मा हुने गरेको छ ।
राष्ट्र बैंकले २०८० असार मसान्तसम्मको तथ्यांकलाई आधार मानेर वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति मापन गरेको हो । खुद वैदेशिक सम्पत्ति २०७९ असार मसान्तको भन्दा साढे २४ प्रतिशतले बढी हो । केन्द्रीय बैंकका अनुसार २०७९ को असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति ११ खर्ब ४९ अर्ब ६४ करेड रुपैयाँ थियो । वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७९ असार मसान्तसम्ममा १३ खर्ब ७० अर्ब ५२ करोड रुपैयाँ र २०७८ असार मसान्तसम्म १३ खर्ब २६ अर्ब ३४ करोड रुपैयाँ थियो ।
वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति भने २०८० साल असार मसान्तसम्म ३९ खर्ब २६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको २०७९ असार मसान्तको भन्दा ७ दशमलब ६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष खुद आन्तरिक सम्पत्ति ३६ खर्ब ६८ अर्ब ४० करोड ९६ लाख रुपैयाँ पुगेको थियो ।
वित्तीय क्षेत्रको आन्तरिक दाबी ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो सम्पत्ति ६३ खर्ब ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तसम्म १० खर्ब २३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने सार्वजनिक गैर वित्तयि संस्थान माथिको दाबी ३१ अर्ब ४४ करोड रुपैयाँ छ । त्यसैगरी निजी क्षेत्रमाथिको दाबी भने ५७ खर्ब ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।