२०८१ माघ २७ आईतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुनमा एक लाख ३० हजार आठ सय ४४ ऋणीलाई प्रवाह भएको एक खर्ब ४९ अर्ब ३० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । जसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५१ हजार चार सय पाँच ऋणीलाई प्रवाह भएको एक खर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७६ हजार नौ सय ७५ महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको मुलुकको वित्तीय तथ्यांकअनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुर्ई हजार हजार चार सय ६४ ऋणीको दुर्ई अर्ब पाँच करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा वाणिज्य बैंकहरूको २८ खर्ब ९४ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबाहेक) को दुर्ई खर्ब ९४ अर्ब ४१ करोड गरी कुल ३१ खर्ब ८९ अर्ब ३५ करोडको अन्तर-बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको २३ खर्ब ७१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरूको दुई खर्ब ३७ अर्ब २५ करोड गरी कुल २६ खर्ब आठ अर्ब ९२ करोडको अन्तरबैंक कारोबार भएको थियो ।

त्यस्तै, २०७९ फागुनमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेकोमा २०८० फागुनमा ३.०२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा ७.१८ प्रतिशत रहेकोमा २०८० फागुनमा २.९२ प्रतिशत रहेको छ । २०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधारदर ८.७७, विकास बैंकहरूको १०.७१ र वित्त कम्पनीहरूको १२.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरूको औसत आधारदर १०.६४ प्रतिशत थियो ।

२०८० फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७४, विकास बैंकहरूको ७.९३ र वित्त कम्पनीहरूको ९.१३ प्रतिशत रहेको छ । २०७९ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको थियो । त्यसैगरी कर्जाको भारित औसत ब्याजदर २०८० फागुनमा वाणिज्य बैंकहरूको १०.७८, विकास बैंकहरूको १२.५२ र वित्त कम्पनीहरूको १३.६१ प्रतिशत रहेको छ । २०७९ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो ।

तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको संख्या एक सय १० पुगेको छ । जसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८० असार मसान्तमा ११ हजार ५८९ रहेकोमा २०८० फागुनमा ११ हजार पाँच सय ९३ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय