
काठमाडौं – आठवटा वाणिज्य बैंकलाई प्राथमिक पुँजीको दबाब देखिएको छ। चालू आर्थिक वर्ष २०८०/०८१ को असोज मसान्तसम्मको विवरणअनुसार ८ वाणिज्य बैंकलाई प्राथमिक पुँजी पुर्याउन दबाब देखिएको हो।
उक्त अवधिमा पुँजीकोष ८.५ प्रतिशत नपुग्दा कुमारी बैंकलाई भने धक्का लागेको छ। राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ। पुँजी कोषलाई राष्ट्र बैंकले प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर)लाई गणना गर्ने व्यवस्था छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ, जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो।
यही प्राथमिक पुँजीकोषमै राष्ट्र बैंकले ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर लागू गरेको छ। जुन आगामी असार मसान्तदेखि कायम गरी वाणिज्य बैंकहरूले व्यवसाय गर्नुपर्छ। पुँजीकोषमा बैंकको चुक्ता पुँजी, बाँड्न लागिएको लाभांश, सेयर प्रिमियम, रिजर्भ, रिटेन्ड अर्निङ, चालू वर्षको अडिट नभएको नाफालाई जोडेर आउने रकममा कर एसेटलगायत लगानी भएका इक्विटी एक्सेसको सीमा घटाएपछि आउने रकमलाई जोडिएको हुन्छ।
साथै, ऋणपत्र, लोन लस प्रोभिजनबापतको रकम र रिजर्भ जोडेर आउने रकमलाई समेत पुँजीकोषमा जोडिएको हुन्छ। पुँजीकोष अनुपात सीमा नपुगे बैंकहरूले नयाँ कर्जा रोकेर वा पुरानो कर्जा घटाएर (रिकभरीमा लागेर) वा बैंकका अन्य गैरबैंकिङ सम्पत्ति बिक्री गरी सञ्चित कोष (रिजर्भ) बढाउनुपर्ने दबाब रहन्छ।
असोजमा कुमारी बैंकको प्राथमिक पुँजी कोष ८.२१ प्रतिशत छ। साथै प्रभु बैंक, एनआईसी एसिया र माछापुच्छ्रे बैंक बैंकको प्राथमिक पुँजी कोष भने सीमा वरिपरि छ। यस अवधिमा प्रभु बैंकको ८.९२ प्रतिशत, एनआईसी एसिया बैंकको ८.७३ प्रतिशत र माछापुच्छ्रे बैंकको ८.७९ प्रतिशत छ।
प्राथमिक पुँजी कोषको दबाब रहेका बैंकलाई काउन्टर साइक्लिकल बफरबापत थप्नुपर्ने ०.५ प्रतिशतले थप प्रभाव पार्नेछ।
अन्य ६ बैंकलाई पनि प्राथमिक पुँजी कोषको दबाब छ। नबिल बैंक, एनएमबी बैंक, सिटिजन बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकको प्राथमिक पुँजी कोष १० प्रतिशत कम हुँदा अतिरिक्त पुँजी जुटाउन समस्या पर्ने देखिएको हो।