
काठमाडाैं । बैंक तथा वित्तीय संस्थाको खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ । बैंकहरूले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार धेरैजसो वाणिज्य बैंकको खुद नाफा घटेको हो भने खराब कर्जा बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वाणिज्य बैंकले २८ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनलामा यो करिब ८.४४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यी बैंकहरूको खुद नाफा ३१ अर्ब ३४ करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्षको यस अवधिमा ६/७ वटा बैंकले मर्जरपछिको एकीकृत वित्तीय विवरण प्रकाशन गरेका थिए । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको खुद ब्याज आम्दानी ९६ अर्ब २० करोड रुपैयाँ छ । गत वर्षको तुलनामा यो १७.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएका थिए ।
समग्रमा १७ वाणिज्य बैंकको नाफा घटेको छ । यस पटक सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल बैंक छ । बैंकको एक अर्ब १७ करोडबाट नाफा घटेर ५९ करोड रुपैयाँ पुगेको हो । सबैभन्दा धेरै नाफा बढ्नेमा प्राइम कमर्सियल बैंक छ । बैंकको नाफा ३२.१२ प्रतिशतले बढेर दुई अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।