सूर्य बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । पुतलीसडकमा कार्यालय रहेको उक्त सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा काठमाण्डौ महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधारणसभाले संस्था सञ्चालक समितिको तर्फबाट पेश भएको आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा सभापतिको आशनबाट बोल्ने क्रममा सूर्य बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुशील शाहीले संस्थाको भावी कार्ययोजना र संस्थाले मुलुकको असहज अवस्थाका बाबजुद हासिल गरेका उपलब्धीहरुको बारेमा जानकारी गराउँदै वर्तमान विषम् परिस्थितिमा पनि संस्था सञ्चालनमा धैर्यतापूर्वक साथ दिएकोमा सेयर सदस्यहरुप्रति आभार प्रकट गर्नुका साथै संस्था र सेयर सदस्यहरुबीच समन्वयात्मक ढंगले अघि बढ्नसके सहकारी क्षेत्रमा देखिएका तमाम् समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
“सबैको लागि सूर्य, सूर्य सबैको लागि” भन्ने नारालाई आत्मसाथ गर्दै सञ्चालित यस सहकारी संस्थाले सहकारी मूल्य मान्यताहरुको अनुशरण गर्दै सरल एवं सहज रुपमा सेवाग्राहीमाझ प्रस्तुत भएर मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका लागि छरिएर रहेको स–सानो पूँजीलाई एकिकृतरुपमा परिचालन गरि बित्तीय तथा अन्य सेवा सुविधाहरु उपलब्ध गराई सदस्यहरुको आर्थिकस्तर उकास्न सहयोग पुर्याउने कार्य गर्दै आएको छ ।
२०५६ सालमा स्थापित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी क्षेत्रमा आफनो बेग्लै पहिचान बनाउन सफल भएको छ । सञ्चालक समितिको नियमित बैठक तथा लेखा समिति र ऋण उप–समितिहरुको बैठकमा सहभागी भई संस्थालाई चुस्तदुरुस्त बनाउने कार्यमा पनि संस्थाले पूर्णरुपले भूमिका निर्वाह गर्दै आईरहेको छ ।















