काठमाडौं – बजारमा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा नै केन्द्रीय बैंकले १ खर्ब बढी निक्षेप उठाएको छ । मङ्सिर महिनामा औसत १.५३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकले कूल १ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ निक्षेप उठाएको हो ।
निक्षेप सङ्कलन उपकरणका माध्यममार्फत केन्द्रीय बैंकले ७ दिने र १४ दिने गरी कूल १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप आह्वान गरेको थियो । जसमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ बराबरको मात्र निक्षेप सङ्कलन बोलपत्र खरिद गरेका हुन् ।
यस्तो निक्षेप केन्द्रीय बैंकले न्यूनतम ०.७०४८ प्रतिशतदेखि अधिकतम २.९९५७ प्रतिशतसम्मको ब्याजदरमा बजारबाट उठाएको हो । जबकि बैंक तथा वित्तीय संस्थाहरूको औसत निक्षेपको ब्याजदर ५ प्रतिशत हाराहारी रहेको छ भने अन्तर बैंक ब्याजदर २.६६ प्रतिशत हाराहारी रहेको छ ।
मङ्सिर महिनामा बैंकले ७ दिने निक्षेप सङ्कलन उपकरणमार्फत ७५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो भने १३ दिने निक्षेप सङ्कलनमार्फत २५ अर्ब रुपैयाँ र १४ दिने निक्षेप सङ्कलन उपकरणमार्फत २७ अर्ब २५ करोड रुपैयाँ तरलता उठाएको थियो ।















