काठमाडौं – पछिल्ला दिनमा सुनको भाऊ लगातार बढिरहेको छ । पछिल्लो रेकर्डअनुसार बजारमा प्रतितोला १ लाख २० हजार ८ सय रूपैयाँमा छापावाल सुनको कारोबार भइरहेको छ । यसअघि १ लाख १९ हजार ३ सय थियो भने त्यसको दुइदिन अघि १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार मात्रै तोलाको १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । यसरी निरन्तर सुनको मूल्यमा उच्च बृद्धि भइरहेको छ ।
अमेरिकी अर्थतन्त्र माथि गएसंगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाऊ दशकौंदेखि लगातार बढिरहेको छ । अन्तर्राष्ट्रिय तथ्यांकले भनेको छ?, ‘सन् १९३३ मा ३५ डलर प्रतिआउन्स रहेकोसुनको मूल्य सन् २०११ मा आइपुग्दा १९२४ डलरसम्म पग्यो । जुन डलरको हिसाबले सबैभन्दा उच्च थियो । त्यसमा सन् २०१६ मा १०५० डलरमा झरेको सुनको मूल्य अहिले फेरि बढेर १९२० डलर प्रतिआउन्सको मूल्यमा कारोबार भइरहेको छ । यसको अर्थ सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा निकै उताचढाव देखिएका छन् ।
सुनको अन्तर्राष्ट्रिय मूल्यमा नै लगातार बृद्धि हुँदा नपालमा पनि त्यसको प्रभाव परेको हो । अन्य क्षेत्रमा लगानी सुरक्षित नभएको देखेपछि अन्र्राष्ट्रिय बजारमै सुनचाँदीको माग ह्वात्तै बढेको छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमै शेयरबजार, पेट्रलियम बजार लगायतका लगानीका क्षेत्रमा गिरावट आएको छ । जकिा कारण यी क्षेत्रमा लगानीको वातवरण कमजोर भएको छ । लगातार बढिरहेको सुन बजारमा मुनाफा उच्च हुने देखिएपछि यो क्षेत्रमा आकर्षण बढेको सरोकारवालाको बुझाइ छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य भन्छन्, ‘ अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च छ । लगानीका लागि अन्य सुरक्षित क्षेत्र नभएपछि लगानीकर्ताको आकर्षण सुनमा बढेको हो ।’
उनकाअनुसार नपाली बजारमा भने सुनको माग घटेको हो । बज्राचार्यले भने, ‘नेपाली बजारमा कोरोना महामारीदेखि नै सुनको बजार सुस्त थियो । अहिले त लगानी भन्दा पनि अत्यावश्यक बेला बाहेक सुनमा लगानी गर्नेहरू कमै छन् । ’















