
काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले मंसिर महिनाका लागि संस्थागत निक्षेपको ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउनेमा समेत एनआइसी एसिया बैंक नै छ । संस्थागत निक्षेपतर्फ ब्याजदर घटाउनेमा एनआइसी एसिया, एनएमबि, नबिल, राष्ट्रिय वाणिज्य, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, सानिमा, प्रभु, एभरेष्ट र नेपाल एसबिआई बैंक छन् ।
मंसिरका लागि एनआइसी एसियाले ब्याजदर घटाएर ६.९६८ प्रतिशत, एनएमबिले ७.७६ प्रतिशत, नबिलले ७.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले ७.५१ प्रतिशत, ग्लोबल आइएमईले ७.६ प्रतिशत, हिमालयन बैंकले ८.६०३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५.२५ प्रतिशत र कृषि विकास बैंकले ७.५१२ प्रतिशत कायम राखेका छन् ।
सानिमा, प्रभु र एभरेष्ट बैंकले संस्थागत निक्षेपको ब्याजदर घटाएर ७ प्रतिशत कायम राखेका छन् । त्यस्तै, नेपाल एसबिआई बैंकले ८.६०३ प्रतिशत कायम राखेका छन् । ६ वाणिज्य बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ । बढाएपछि माछापुच्छ्रे बैंकको ब्याजदर ८.६०३ प्रतिशत पुगेको छ ।