२०८१ माघ २४ बिहीबार

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रको निकै जटिल समस्याको रुपमा सरेण्डर (बीमा समर्पण) देखिएको छ । बीमितहरुले बीमा गराउँने भन्दा पनि बीमालेखबाट छुटकारा पाउँने बाटो अपनाउँन थालेको तथ्यांकहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय आर्जन गरेका थिए । सो मध्ये १२ अर्ब १८ करोड रुपैयाँ बराबरको बीमालेख सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ । यसरी हेर्दा १० प्रतिशत हाराहारीमा बीमा पोलिसी सरेण्डर भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ८१ हजार ८ सय ३० वटा बीमा पोलीसीबाट १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको थियो । यता नेपाल बीमा प्राधिकरण भने त्यस्ता सरेण्डर दर रोक्न आफूहरुले छुट्टै गृहकार्य गरेर नै अघि बढि रहेको दाबी गर्छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता समेत रहेका राजुरमण पौडेलले बीमा क्षेत्रमा सरेण्डरको मुख्य कारण आफूहरुले खोजी गर्दै आएको बताएका छन् । त्यस्तै, ती कारणहरुलाई नै आधार बनाएर आफूहरुले ठूला मात्रामा भई रहेका सरेण्डर रोक्ने पनि बताउदै आएका छन् ।

बैंकिङ्ग समाचार डटकमले गरेको खोजीमा, जीवन बीमा कम्पनीहरु सरेण्डरकै कारण निकै चिन्तित देखिन थालेका छन् । उनीहरुले बीमा क्षेत्रमा हुने सरेण्डरकै कारण आफ्नो व्यवसायमा दीर्घकालिन असर पर्न थालेको पनि बताएका छन् । बीमितहरुले बढी भन्दा बढी बीमा गराउँदा एकातिर बीमितले विपत्तीको बेलामा लाभ लिन सक्ने र धेरै जनाले बीमा गराउँदा मात्रै बीमा कम्पनीहरुले पनि अपेक्षित व्यवसाय गर्न सक्ने अवस्था रहन्छ ।

बीमाको सिद्धान्त पनि त्यस्तै अंशसँग मिल्दोजुल्दो छ । हामीले अहिलेको अवस्थामा व्यवहारीक रुपमा हेर्ने हो भने एउटा पक्षमा बीमितले आफूले पाएको सुविधा गुमाई रहेका छन् भने अर्को पक्षमा बीमा कम्पनीहरुले आफ्नो हातमा परेको व्यवसाय पनि धमाधम गुमाईरहेका छन् । त्यसरी व्यवसाय गुमाउने अवस्था अन्य अवस्था भन्दा भिन्न र विशेष रहेको बीमाका जानकारहरुले बताउँने गरेका छन् । बीमा गरेर कसैले बीमालेख फिर्ता गर्छ भने त्यसले बीमा कम्पनी र बीमित दुवैलाई घाटा हुन्छ ।

परिपक्क भएका बीमालेखकोे मात्र दाबी भुक्तानी पाईने

बीमा कम्पनीहरुले आफ्ना कुनै पनि बीमितको परिपक्क भएका बीमालेखको मात्र पूर्ण दाबी भुक्तानी दिन पाउने व्यवस्था छ । बीमितले पाउने लाभ, बोनस पाउन पनि उनीहरुले आफ्नो बीमालेखको तोकिएको अवधि अनिवार्य रुपम पूरा गर्नु पर्छ । त्यसरी बीमाको अवधि पूरा भएको अवस्थामा बीमितहरुले बीमा कम्पनीबाट आफ्नो दाबी भुक्तानी, बोनस, व्याज, बीमांक र अन्य किसिमका दोब्बर वा पेन्सन प्लानका सुविधा पाउँछन् । अहिले चालु आर्थिक वर्षको सुरुवातकै कुरा गर्ने हो भने नेपाली जीवन बीमामा सरेण्डरको दर अधिक बढेको छ । यसरी सरेण्डर बढ्दा बीमितहरुले आफ्नो दाबी भुक्तानी पाउने अवस्था त टर्छ नै उनीहरुले आफूले दिएको साँवा रकम पनि घटने अवस्था आउँछ ।

सरेण्डरले बीमितलाई आर्थिक रुपमा मात्रै घाटा गर्दैन यसले त उनीहरुले पाउने रक्षावरणका सुविधा पनि आगामी दिनका लागि पूर्ण रुपमा रोक्ने गर्छ । सरेण्डर बढ्नु भनेको बीमितहरुको लागि जोखिमको दर पनि बढ्नु हो । उनीहरु बीमा गर्नु भन्दा पहिलाको अवस्थामा नै फर्किनु पनि हो । बीमा कम्पनीहरुले अहिले थोरै बीमाशुल्क बुझाउनुपर्ने सस्तो किसिमका बीमा पनि बजारमा ल्याएका छन् । त्यसरी थोरै प्रिमियम तिर्दा बीमितलाई आर्थिक भार कम हुन जान्छ । बीमितलाई आर्थिक भार कम हुन जाने अवस्थामा सरेण्डर कम हुन्छ ।

अहिले बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले पनि बीमितहरुको हक, हितका लागि भनेर बीमाशुल्कको बारेमा अध्ययन सुरु गरेको छ । बीमा बजारको माग र आवश्यकता अनुसारका शुल्क निर्धारण नभएका कुराहरु पनि नेपाली बीमा बजारमा उठिरहन्छन् । बीमा कम्पनीहरुले सरेण्डर भनेको कुनै पनि बीमितले बीमाबाट आफूलाई कुनै पनि लाभ चाहिदैन भन्ने अवस्थामा पुगेपछि मात्रै गर्नु पर्ने बताउँछन् । अहिलेको बीमा बजारमा हेर्ने हो भने सरेण्डर फेसन जस्तो बनेको छ । अन्य बीमितले बीमालेख फिर्ता लिएको समयमा आफूलई धेरै जरुरी नपरे पनि कतिपय बीमितहरुले बीमालेख फिर्ता गर्ने गरेको बीमा कम्पनीहरुको गुनासो छ ।

नेपालमा मात्र नभई अन्य देशहरुमा पनि सरेण्डरलाई निरुत्साहित गर्न सरकार समेतको पहल हुने गरेको छ । सरेण्डरले बीमाशुल्क फिर्ता गराउँने मात्र नभई समग्रमा बीमा व्यवसाय बिगार्ने देखि नयाँ बीमितहरुमा वितृष्णा जगाउनेसम्मको काम गर्छ । बीमाप्रति नै वितृष्णा जाग्दा त्यसको असर नयाँ बीमा कम्पनीहरुमा भन्दा पनि धेरै चुक्ता पूँजी भएका र लामो बीमा इतिहास भएका बीमा कम्पनीहरु बढी प्रभावित भएको देखिन्छ ।

जति धेरै जनाको बीमा गरायो बीमा कम्पनीहरुको त्यति नै धेरै जोखिमभार पनि बढ्ने गर्छ । यसरी जोखिम भार धेरै भएको कम्पनीमा नै सरेण्डरको पनि सम्भावना देखिने गर्छ । यसको एकमात्र कारण भनेको पुराना बीमा कम्पनीमा बीमा गर्ने बीमितहरुको संख्या निकै धेरै हुन्छ । धेरै जनाले बीमा गराएको कम्पनीमा बीमालेख त्याग्नेको संख्या पनि स्वत बढी हुने अध्ययनहरुले देखाएको छ ।

अहिले बीमा कम्पनीहरुले बीमा क्षेत्रका अभिकर्ताहरुकै मिलेमतोमा नियोजित रुपमा नै सरेण्डर हुने गरेको आरोप लगाएका छन् । बीमालाई बुझ्दै नबुझेको व्यक्तीले भन्दा पनि यसलाई जाने बुझेका व्यक्तीबाट नै नचाहिँदा सरेण्डर हुने गरेकोमा नियामक निकाय बीमा प्राधिकरण पनि जानकार नै छ । अहिले बीमा प्राधिकरणले आपत विपत परेर कसैले सरेण्डर गर्ने भन्दा पनि नियोजित रुपमा नै अभिकर्ताहरुले सरेण्डर गरेमा त्यस्तो अवस्थामा कारबाही गर्ने प्रावधान अघि सारेको छ ।

विगतमा करोड रुपैयाँमा सिमित रहेको सरेण्डर अहिले अर्ब रुपैयाँ भन्दा बढी हुने स्थितीमा पुगेको छ । बीमा प्राधिकरणले सरेण्डरलाई निरुत्साहित गर्न बीमा कम्पनी, अभिकर्तालाई छलफल तथा सचेतना कक्षाहरु पनि चलाउँदै आएको छ । आगामी दिनमा सरेण्डरको महत्व बीमितहरु स्वयमले बुझ्नु पर्ने र त्यसबाट घाटा पर्ने बुझेर बीमितहरुले पनि जिम्मेवार नागरिकको भूमिका खेल्ने अवस्था निर्माण गर्न आफूहरुले पहल थालेको बीमा प्राधिकरणले बताएको छ ।

बीमा बजारमा नयाँ किसिमका बीमालेखको अभाव हुँदा पनि बीमितहरु सरेण्डर गर्न बाध्य भएको देखिन्छन् । अहिले जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी दुई अर्ब पचास करोड रुपैयाँ पुर्याइएको छ । यसले बीमा कम्पनीहरुको जोखिम धारण क्षमता निकै बढाएको छ । बीमा कम्पनीहरुले धारण गर्ने जोखिमको क्षमता बढे पनि उनीहरुले जोखिम र बीमितहरुलाई जोड्ने बीमालेखमा भने ठूलो खाडल उत्पन्न हुने गरेको छ । जन चाहना अनुसारका प्रोडक्ट डिजाईन गर भनेर बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिई रहेको अवस्था छ । आगामी दिनमा बीमितहरुको माग अनुसारको प्रोडक्ट ल्याएर बिक्री वितरण गरेमा पनि बीमामा हुने सरेण्डरको अनुपात घट्ने देखिन्छ ।

अहिले पनि कतिपयले बीमा नेपालको भन्दा विदेशी अभ्यास भएको र विदेशी भुमीमा सुहाउँदो प्रोडक्टहरु नेपालमा ल्याएकाले पनि त्यसले बजारको आवश्कता पूरा गर्न नसकिरहेको अवस्था रहेको तर्क गर्दै आएका छन् । अहिले नेपाली बीमा बजारको आवश्यकता बुझेर बीमा कम्पनीहरुले प्रोडक्ट ल्याउने र उनीहरुले ल्याएको प्रोडक्टको अनुसन्धान गरेर बीमा प्राधिरकणले अनुमति दिने हो भने पनि कतिपय सरेण्डर रोकिने एक पक्षको दाबी छ ।

नेपाली बीमा बजारमा सरेण्डर आवश्यक नै छैन भन्नेदेखि सरेण्डर ठूलो रोग हो भन्नेसम्मको चर्चा चलिरहेको बेलामा बीमा प्राधिकरणले अती आवश्यका परेका केही सिमित बीमितहरु बाहेक अरुले अनावश्यक रुपमा सरेण्डर गर्न नहुने बताएको छ । सरेण्डरको समय दुई वर्षबाट बढाएर तीन वर्ष कायम गरेको नेपाल बीमा प्राधिकरणले अब आगामी दिनमा सरेण्डरको रकममा समेत सिमा तोक्नुपर्ने आवाजहरु उठ्न थालेका छन् । जीवनमा जोखिम छ र त्यस्ता जोखिमको आर्थिक रक्षावरण बीमाले मात्रै गर्ने भएकाले सरेण्डरमा पल्किने भन्दा पनि आफूलाई आवश्यक परेको मात्रै बीमा खरिद गरेर त्यसको बीमांक, अन्तिम लाभ लिनु पर्ने बीमा प्राधिकरणले बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय