२०८१ माघ २९ मंगलवार

काठमाडौँ । वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरणमा निष्क्रिय कर्जामा वृद्धि देखिएको छ । गत आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा १.७७ प्रतिशतमात्रै रहेको थियो । तर, यस आर्थिक वर्षको सोही अवधीमा बढेर ३.४० प्रतिशत पुगेको देखिएको छ । बैंकहरुको निष्क्रिय कर्जा भने अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरले वृद्धि भएको देखिन्छ ।

निष्क्रिय कर्जाका कारण बैंकहरुले सम्भावित कर्जा नोक्सानीबापत प्रोभिजन गर्नुपर्ने रकम पनि दोब्बरभन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा मात्रै वाणिज्य बैंकहरुले सम्भावित कर्जा नोक्सानीको लागि १६ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ । यो गत आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी अर्थात् ७९ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा ९ अर्ब ४७ करोड १९ लाख रुपैयाँ प्रोभिजन गरिएको थियो । बैंकहरुले प्रोभिजनिङमा ठूलो रकम छुट्याउनुपर्दा उनीहरुको नाफामा उच्च गिरावट आएको छ ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १३ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा सञ्चालनमा रहेको वाणिज्य बैंकहरुले आर्जन गरेको मुनाफाभन्दा २८.२० प्रतिशतले कम हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको कुल मुनाफा १८ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ थियो ।

बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात नै ३.४० प्रतिशत पुगेको छ । कृषि विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ५.३३ प्रतिशत पुगेको छ । यस्तै, कुमारी बैंकको ४.८९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ४.८३ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि पुग्नेमा लक्ष्मी सनराइज बैंकको ४.६९ प्रतिशत, हिमालयन बैंकको ४.६७ प्रतिशत र ग्लोबल आईएमई बैंकको ४.३८ प्रतिशत पुगेको छ । बैंकहरुको निष्क्रिय कर्जा बढ्दै जाँदा वित्तीय प्रणालीमा समेत जोखिम बढ्दै गएको छ ।

असोज मसान्तमा सबैभन्दा न्यून निष्क्रिय कर्जा अनुपात एभरेष्ट बैंकको ०.९० प्रतिशत छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.१ प्रतिशत र एनआईसी एसिया बैंकको १.३७ प्रतिशत र सानिमा बैंकको १.७९ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय