२०८३ बैशाख ११ शुक्रबार

काठमाण्डौं । वित्तीय क्षेत्रको अल्पकालिन ब्याजदरहरु बढ्न थालेका छन् । चालु आर्थिक वर्षको कात्तिक महिनाका लागि अधिकांश बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएको भएपनि अल्पकालिन दरहरु भने बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनाको दोस्रो साता अन्तर बैंक दर दोब्बर भन्दा धेरैले बढेको छ भने ट्रेजरीको डिस्काउन्ट रेट पनि उकालो लागेको छ । नेपालीहरुको महान चाड दसैं सुरु हुनुभन्दा अघि बैंकिङ प्रणालीको औसात अन्तर बैंकदर १.९९ प्रतिशतमा रहेकोमा दसैं सकिए लगत्तै बढेर ४.५८ प्रतिशत पुगेको हो ।

दसैंअघि अर्थात असोज ३० गते बैंकिङ प्रणालीको कुल निक्षेप ५९ खर्ब १५ अर्ब रुपौयाँ पुगेको थियो । कुल कर्जा पनि करिब ३० अर्बले बढेर ५० खर्ब पुगेको थियो । तर, दसैं सुरु भएसँगै बैंक वित्तीय संस्थाबाट निक्षेप झिक्ने क्रम पनि बढेको छ । असोज ३० गतेदेखि कात्तिक ९ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब निक्षेप घटेर ५८ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको कर्जा पनि २७ अर्बले घटेर ४९ खर्ब ७३ अर्बमा झरेको छ ।

केन्द्रीय बैंकका अनुसार कात्तिक १० गते शुक्रबार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी कर्जा लगानी झनै घटेर कात्तिक १० गतेसम्म कुल कर्जा ४९ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार कात्तिक १२ गते आइतबार बैंकिङ प्रणालीमा ७६ अर्ब ५५ करोड रुपैयाँ बराबरको तरलता छ । कात्तिक १० गते शुक्रबार भने वित्तीय प्रणालीको तरलता ८२ अर्ब रुपैयाँ बराबरको रहेको थियो ।

त्यसैगरी केन्द्रीय बैंकले सोमबार निष्कासन गरेको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि बढेको छ । गत शुक्रबारको तुलनामा सोमबार २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट बढेर ३.२७२५ प्रतिशत पुगेको थियो । शुक्रबार २८ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट २.८७११ प्रतिशत थियो । सोमबार केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल्स निष्कासन गरेको थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको ८ अर्ब १० करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरीको औसत डिकासएन्ट रेट पनि बढेको छ । गत शुक्रबार ४.३७९१ प्रतिशत रहेको औसत डिस्काउन्ट रेट सोमबार ४.४५२२ प्रतिशत पुगेको छ । सोमबार निष्कासन भएको १३ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.५२६२ प्रतिशत कायम भएको छ ।

यो औसत डिसकाउन्ट रेट गत शुक्रबारको भन्दा धेरै हो । गत शुक्रबार १८२ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट ५.४१९३ प्रतिशत थियो । त्यसैगरी सोमबार निष्कासन भएको एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट ५.७०२७ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर