
काठमाडौं । सेयर बजारमा लगानी गरी नाफामा बिक्री गरेको अवस्थामा सरकारलाई पुँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ। सरकारले सेयरको पुँजीगत लाभकरमार्फत ठूलो रकम राजस्व उठाउने गरेको हो।
सरकारले पछिल्लो सात आर्थिक वर्षमा ३१ अर्ब १ करोड १२ लाख पुँजीगत लाभकर संकलन गरेको छ। सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार लगानीकर्ताहरुले सरकारलाई उक्त रकम बराबरको पुँजीगत लाभकर बुझाएका हुन्।
लगानीकर्ताहरुले आर्थिक वर्ष २०७३/७४ मा सरकारलाई १ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए। उक्त आर्थिक वर्षमा सेयर बजार यस अघिको बुलमा थियो। बजार १ हजार बिन्दुबाट १८७८ बिन्दु सम्म आइपुगेको थियो। उक्त समय बुलिस मार्केटले दोस्रो बजारमा कारोबार रकममा वृद्धि भएसँगै पुँजीगत लाभकर संकलन पनि १ अर्ब माथिको भएको हो।
त्यसपछि आर्थिक वर्ष २०७४/७५ मा बजार घट्दा कारोबार पनि स्वत: घटेको छ। जसकारण पुँजीगत लाभकर पनि निकै घटेको पाइएको छ। उक्त वर्ष सरकारले सेयर बजारमार्फत ५० करोड ७६ लाख पुँजीगत लाभकर संकलन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा आधाभन्दा धेरैले कम हो।
यस्तै आर्थिक वर्ष २०७५/७६ मा पनि पुँजीग लाभकर ६१ करोड २ लाख बराबर रकम सेयर बजारमार्फत सरकारलाई प्राप्त भएको छ। २०७६/७७ मा ९८ करोड ५२ लाख रकम सरकारले सेयर बजारमार्फत प्राप्त गरेको छ। उक्त समय सेयर बजारमा अनलाइन प्रणाली आइसकेका कारण कारोबार बढ्दा पुँजीगत लाभकर पनि पछिल्लो दुई आर्थिक वर्षको तुलनामा बढी भएको हो।
यस्तै आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारमार्फत हालसम्मकै उच्च राजस्व संकलन भएको छ। सीडीएससीको तथ्यांकअनुसार उक्त वर्ष सेयर बजारमार्फत १४ अर्ब १३ करोड ६१ लाख पुँजीगत लाभकर उठेको छ। उक्त वर्ष सेयर बजार पछिल्लो बुलमा थियो।
आर्थिक वर्ष | पुँजीगत लाभकर |
२०७३/७४ | १,४४,८२,६३,८०६ |
२०७४/७५ | ५०,७६,३८,०९४ |
२०७५/७६ | ६१,०२,७४,६१६ |
२०७६/७७ | ९८,५२,८६,५३४ |
२०७७/७८ | १४,१३,६१,५३,०५३ |
२०७८/७९ | १०,३५,३०,५९,५१७ |
२०७९/८० | २,९७,०५,८९,३०७ |
२०८०/८१ भदौसम्म | ५४,०९,६१,०२९ |
दोस्रो बजारले ३ हजार २०० विन्दु पार गर्दा दैनिक २१ अर्बभन्दा बढीको सेयर खरिद बिक्री हुने गरेको थियो। भदौ २ गते नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको थियो। बढेको बजारमा भएको कारोबार अधिकांश नाफामै हुने भएकाले पनि त्यसबेला पुँजीगत लाभकर बढेको पाइन्छ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा पनि १० अर्ब ३५ करोड पुँजीगत लाभकर संकलन भएको छ। सोही आर्थिक वर्षमा राष्ट्र बैंकले ४/१२ को नीति कार्यान्वयनमा ल्यायो। बजारमा तरलता अभाव देखिन थाल्यो। बैंकहरुले कर्जाको ब्याजदरमा वृद्धि गरे। यता बैंकमा सेयर धितो राखेर मार्जिन लोन लिएकाहरुलाई पनि बियरिस मार्केटका कारण मार्जिन कलको सास्ती आयो। यद्यपि, बजारसँगै कारोबार पनि सुस्तायो।
बजार बुल हुँदा २१ अर्बसम्मको कारोबार भएको बजारको कारोबार ५० करोडसम्म आइपुग्यो। यद्यपि, बियरिस मार्केटको प्रभाव पुँजीगत लाभकरमा पनि देखिएको छ। गत वर्ष सरकारले सेयर बजारबाट २ अर्ब ९७ करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर संकलन गर्यो। अघिल्लो आर्थिक वर्षसँग तुलना गत वर्षको पुँजीगत लाभकर ७१.३१ प्रतिशत घटेको हो। अहिले दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर सरकारलाई तिर्नुपर्ने व्यवस्था छ।
दुई महिनामा ५४ करोड
सरकारले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा सेयर बजारमार्फत करोडौं रुपैयाँ राजस्व आफ्नो ढुकुटीमा सारेको छ। सरकारले चालु आर्थिक वर्षको दुई महिनामा सेयर बजारमार्फत ५४ करोड ९ लाख ६१ हजार पुँजीगत लाभकर संकलन गरेको हो। पछिल्लो समय सेयर बजारमा देखिएको उतारचढावले पुँजीगत लाभकरमा असर देखिने गरेको छ। बजार घटबढको सोझो असर पुँजीगत लाभकरमा पर्ने गरेको छ।