
काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकहरुले साढे १६ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको विवरणमा २० बैंकले १६ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ५४ करोड बढी नाफा कमाएका हुन्।
चालु आर्थिक वर्षको भदौसम्ममा पनि पूँजीको आधारमा सबैभन्दा ठुलो बैंक ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। बैंकले दुई महिनामा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको हो। यस्तै नविल बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ।
गत वर्ष विग मर्जर गरेका यी बैंकमा नाफामा नम्बर एक हुने कडा प्रतिशपर्धा देखिएको छ। गत वर्ष विग मर्जर गरेका बैंकहरुले अन्य बैंकहरुलाई नाफामा उछिनेका छन्।
यस्तै हिमालयान बैंकले १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष नै विग मर्जर गरेका प्रभु र सनराइज लक्ष्मी बैंकले भने दुई महिनामा पनि १ अर्बभन्दा कम नाफा कमाएका छन्। अन्य बैंकहरुको तुलनामा यी बैंकको नाफा केहि कम छ।