
काठमाण्डौं । सहुलियतपूर्ण कर्जा बक्यौता करिब दुई खर्ब रूपैयाँ बक्यौता रहेको छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरूले करिब दुई खर्ब रूपैयाँ सहुलियत कर्जा प्रदान गरेका छन्। विभिन्न बैंकहरूबाट एक लाख ४५ हजार दुई सय २५ ऋणीले एक खर्ब ९६ अर्ब ३६ करोड सहुलियतपूर्ण कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ।
साउन मसान्तमा कृषि तथा पशुपक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार नौ सय १९ ऋणीलाई प्रवाह भएको एक खर्ब ३५ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ। त्यसैगरी, महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ६ सय २७ महिला उद्यमीलाई प्रवाह भएको ५७ अर्ब ५७ करोड रूपैयाँ कर्जा बक्यौता रहेको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ६ सय ७९ ऋणीको तीन अर्ब दुई करोड कर्जा बक्यौता रहेको छ।
त्यसैगरी, ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन प्रवाह भएको कर्जा ६० करोड ७१ लाख बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।’
सरकारले देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा सहुलियत कर्जा दिँदै आएको छ। मन्त्रिपरिषद्ले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि’ तयार गरेर वित्तीय संस्थाबाट कर्जा दिँदै आएको छ। राष्ट्र बैंकले परिपत्र जारी गरेर सबै वित्तीय संस्थालाई उक्त कार्यविधिमार्फत कर्जा उपलब्ध गराउँदै आएको छ।
आर्थिक वर्ष २०७९/८० मा कृषि तथा पशुपक्षी व्यवसाय सहुलियतपूर्ण कर्जा अन्तर्गत ६० हजार ३ सय ५० ऋणीलाई एक खर्ब ३५ अर्ब ७६ करोड कर्जा प्रवाह भएको छ। आव २०७८/७९ मा कृषि तथा पशुपक्षी व्यवसाय सहुलियत कर्जा अन्तर्गत ६० हजार पाँच सय ४५ ऋणीलाई एक खर्ब ३९ अर्ब २३ करोड रूपैयाँ कर्जा प्रवाह भएको थियो।आव २०७८/७९ को तुलनामा २०७९/८० मा तीन अर्ब ४७ करोड रूपैयाँ कृषि कर्जा प्रवाह घटेको छ।