२०८१ चैत्र २ शनिबार

काठमाण्डौं । चालु आर्थिक वर्षको असोज महीना लागेपछि अल्पकालिन तथा दीर्घकालिन ब्याजदरहरुको तालमेल मिलन सकेको छैन । निक्षेपको ब्याजदर बढाएका बैंकहरुले ट्रेजरीको डिस्काउन्ट रेट घटाएका छन् भने विकास ऋणपत्रमा बढी माग गरेको अवस्थाले तालमेल मिल्न नसकेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा १०५ अर्ब अधिक तरलता रहेको अवस्था छ । प्रणालीमा अधिक तरलता रहेको अवस्थामा पनि केही बैंकहरुले ब्याजदर बढाएका छन् । त्यसैगरी बैंकहरुले विकास ऋणपत्रको लगानी पनि धेरै प्रतिफल माग गर्दा निष्कासन भएजति बिक्री नभएको अवस्था छ । तर, सोमबार ट्रेजरीको डिस्काउन्ट रेट भने समान्य घटेको छ ।

सरकारले बैंकहरुलाई स्थानीय तहको सञ्चिति कोषलाई ६० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दियो । त्यसले गर्दा वित्तीय प्रणालीमा निक्षेप बढ्यो । प्रणालीमा निक्षेप बढेको भएपनि कर्जाको माग बढ्न सकेको छैन । अधिक तरलता र कर्जाको माग बढ्न नसकेको अवस्थामा ब्याजदर घट्नुपर्नेमा बढाएको अवस्था छ ।

सरकारले स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्न दिएसँगै बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात समेत ८२.६८ प्रतिशतमा झरेको छ । त्यसैगरी अन्तर बैंक ब्याजदर समेत घटेर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल ३.५१ प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमालाई निक्षेप संकलन उपकरणको दर अर्थात ४.५ प्रतिशत तोकेको छ ।

असोज महिनाका लागि बैंकहरुले निक्षेप जोगाउनका लागि भन्दै निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले १.०६४ प्रतिशत विन्दुदेखि ०.०१ प्रतिशत विन्दुसम्मले ब्याजदर बढाएका थिए । सञ्चालनमा रहेको २० मध्ये ७ बैंकले बढाएका थिए भने ४ वटाले स्थीर राखेका थिए । तर, बाँकी ९ बैंकले भने ब्याजदर घटाएका थिए ।

अहिले वित्तीय प्रणालीमा अधिक तरलता छ । कर्जा लगानी विस्तार हुन सकेको छैन । तरपनि बैंकहरुले अल्पकालिन होस वा दीर्घकालिन ब्याजदर नघटाउने पक्षमा देखिन्छन् । बैंकहरुको यस्तो अभ्यासले आर्थिक गतिविधि विस्तारमा समेत असर पुग्ने एक बैंकरले बताए । “विकास ऋणपत्रमा बैंकहरुले ७ प्रतिशतभन्दा धेरै ब्याज माग गरेको देखिन्छ,” उनले भने, “ब्याजदर बढ्ने भएपनि केन्द्रीय बैंकले १५ अर्बको विकास ऋणपत्र निष्कासन गरेकोमा ५ अर्ब ६० करोड रुपैयाँको मात्र बिक्री गरेको छ ।”

उक्त ऋणपत्रका लागि २० अर्ब ३५ करोड रुपैयाँ बराबरको माग आवेदन परेको थियो । केन्द्रीय बैंकले तोकेको ७ प्रतिशत कट अफ रेट भन्दा माथि ब्याजदर माग गरेपछि ५ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्र बिक्री गरेको हो ।

तर, सोमबार निष्कासन भएको ९१, १८२ र ३६४ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट भने केही घटेको छ । सोमबार ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ५.४६९४ प्रतिशत कायम भएको छ । यसभन्दा अघि भदौ २६ गते निष्कासन भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ५.८६८० प्रतिशत थियो ।

त्यसैगरी सोमबारको निष्कासन भएको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ६.०४३२ प्रतिशत कायम भएको छ । यसभन्दा अघि भदौ १९ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.४०९४ कायम भएको थियो । सोमबार निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत डिस्काउनट रेट ६.२२१८ प्रतिशत कायम भएको छ । यसअघि ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट गत भदौ १९ गते ६.४३३१ प्रतिशत कायम भएको थियो ।

अल्पकालिन दरहरुमा अन्तर बैंक दर तथा ट्रेजरी बिल्सको रेट घटेको अवस्था छ । विकास ऋणपत्रका बैंकहरुले बढाउने प्रयास गरेको देखिन्छ । त्यसैगरी निक्षेप जोगाउन भन्दै ब्याजदर बढाएका बैंकहरुमा अधिकत तरलताले समेत रेट घटाउन सकेको छैन । कर्जाको माग बढ्न नसक्दा समग्र अर्थतन्त्रमा माग बढ्न सकेको छैन । जसले गर्दा आर्थिक गतिविधि नै सुस्त छ । अर्थतन्त्रलाई गति दिन केन्द्रीय बैंकले ब्याजदरको विषयमा देखिएको अन्योलता हटाउनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय