२०८१ माघ २४ बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको सरुवातमै राजस्व असुली सुस्त गतिमा रहको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा आयात व्यापार खुम्चिँदा सरकारले लक्ष्यको ७० प्रतिशत पनि राजस्व असुली गर्न सकेको थिएन । सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकामा ९ खर्ब ५७ अर्ब रुपैयाँमात्र असुली भएको थियो ।

आयात व्यापार खुम्चिएको कारण त्यतिखेर राजस्व असुली लक्ष्य अनुसार हुन नसकेको हो । अर्थतन्त्रमा आएको सुस्ततासँगै आयात व्यापार बढ्न नसकेपछि सरकारको राजस्व पनि कम भएको हो । तर चालु आर्थिक वर्षमा पनि राजस्व असुलीले लक्ष्य लिन सक्ने संभावना न्यून रहेको देखाएको छ । अहिले पनि अर्थतन्त्र खस्कदो अवस्थामा नै रहेको छ । आयात व्यापार पनि सुस्त गतिमा रहेको तथ्यांकले देखाएको छ ।

सरकारको कुल राजस्व लक्ष्यमा भन्सार राजस्वको ठूलो हिस्सा हुने भएकाले आयात व्यापार खुम्चिँदा राजस्व असुलीमा धक्का लाग्ने सम्भावना बढेको छ । यो वर्ष पनि सरकारले राजस्व लक्ष्य घटाएको छैन । बरु १९ अर्ब रुपैयाँ बढाइएको छ । उक्त लक्ष्य बढेर १४ खर्ब २२ अर्ब रुपैयाँ पु¥याएको छ । लक्ष्य बढाइएको अवस्थामा आयात व्यापारमा सुधार नआउने हो भने सरकारको लक्ष्य पुरा नै हुन सक्दैन ।

भन्सार विभागका अनुसार साउनमा एक खर्ब २९ अर्ब मूल्यबराबरका विभिन्न वस्तु आयात भएका छन् । यसबाट सरकारले ३२ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाएको छ । साउनमा भन्सारबाट ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो । पहिलो महिनामै सरकारले लक्ष्यभन्दा ७ अर्ब ३८ करोड रुपैयाँ कम भन्सार राजस्व उठाएको छ ।

गत वर्ष साउनमा एक खर्ब ३१ अर्बको वस्तु आयात हुँदा ३१ अर्ब ९६ करोड रुपैयाँ राजस्व उठेको थियो । यो वर्ष आयात घट्दा राजस्व पनि कम उठेको छ । गत वर्ष विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले केही वस्तुको आयात बन्द गरेको थियो । यस्तै, आयातलाई निरुत्साहित गर्न अन्य उपाय पनि अपनाइएको थियो । तर, यो वर्ष व्यापारमा कुनै अवरोध नहुँदा पनि आयात घटेको छ । भन्सार विभागका निर्देशक तथा प्रवक्ता पुण्यविक्रम खड्काले यो वर्ष आयात कम भएकाले राजस्व घटेको जानकारी दिएका छन् । राजस्व बढी उठ्ने वस्तुको आयात कम भएको कारण असुली लक्ष्य भन्दा कम देखिएको विभागको भनाइ छ ।

पछिल्लो समय सवारीसाधन आयात कम हुँदा राजस्वमा असर परेको देखिएको छ । भन्सारबाट उठाइने राजस्व राज्यको कुल राजस्वको करिब ४८ प्रतिशत हो । चालु आर्थिक वर्षको भन्सार महशुल लक्ष्य ६ खर्ब २७ अर्ब रुपैयाँ छ । विभागले लक्ष्य पूरा गर्ने गरी काम गरिरहेको दावी विभागले गरेको छ । खुला सीमा नाकाका कारण चोरीपैठारी भई सामान आउने हुँदा राजस्वमा असर परेको आंकलन गरिएको छ ।

चोरीपैठारी नियन्त्रण गर्न सम्बन्धित निकायले जोड दिएमा भन्सार राजस्वमा सुधार हुन सक्छ । भन्सार राजस्व आयात बढ्दा बढ्ने र आयात घट्दा घट्नुलाई स्वाभाविक मानिन्छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन भन्सार बिन्दुबाट उठाइने राजस्वभन्दा आन्तरिक उत्पादन र निर्यात बढाउनुपर्छ । पछिल्लो समय बैंकमा तरलता हुँदा पनि औद्योगिक क्षेत्रमा लगानी बढेको अवस्था छैन । यसतर्फ सरकारले ध्यान दिन सकेको देखिदैन् ।

राजस्व बढ्ने–घट्ने कुरा अर्थ–राजनीतिसँग सम्बन्धित हुन्छ । देशमा राजनीतिक अवस्था राम्रो छ भने अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्छ । राजनीतिक अवस्था नराम्रो हुँदा अर्थतन्त्रमा पनि नकारात्मक असर पर्ने गर्छ । अहिलेको राजस्व संकलनको अवस्था हेर्दा निरुत्साहित हुने अवस्था भने देखिदैन । तर, सचेत भएर कमीकमजोरी भएको ठाउँमा सुधार गरी आन्तरिक उत्पादन बढाउन औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने खाँचो भने देखिएको छ ।

पछिल्लो समय मानिसमा क्रयशक्ति कम हुँदा पनि आयात घटेको छ । दैनिक उपभोग्य वस्तुकै मूल्य निकै महँगो भएको हुँदा मानिसमा अन्य सामग्री खरिद गर्ने क्षमता कम रहेको छ । वस्तुको मागअनुसार बजारमा आपूर्ति हुन्छ । अझै पनि आर्थिक मन्दी छ । अर्थतन्त्र राम्रोसँग चलायमान भएको छैन । अत्यावश्यक वस्तुभन्दा अन्य विलासिताका वस्तु खरिद गर्न सक्ने अवस्था नहुँदा आयात र राजस्व दुवैमा समस्या देखिएको विज्ञहरुले बताएका छन् ।

यता निजी क्षेत्रले भने बैक तथा वित्तीय क्षेत्रको आफूखुसी र राज्यको नीति नै प्रष्ट नहुँदा व्यापार–व्यवसाय गर्न नसकिने अवस्थाले आयात कम भएको बताएको छ । बंैकको चर्काे ब्याजदरका कारण उद्योगी–व्यवसायीले ऋण लिन सक्ने अवस्था छैन । लोन दिँदा पनि पहुँच भएका व्यक्तिलाई मात्र दिने परिपाटी अझ पनि हट्न सकेको छैन् । ब्याजदर पनि व्यक्ति हेरेर निर्धारण गरिन्छ । बैंकहरुको मोनोपोलीले साना व्यवसायी मर्कामा पर्ने क्रम जारी रहेको छ ।आर्थिक वर्ष २०७९–८० मा कुल वैदेशिक व्यापार १६ खर्ब ११ अर्बको भएको थियो । सरकारले भन्सार राजस्वको लक्ष्य ६ खर्ब ५८ अर्ब रुपैयाँ लिएको थियो । यसमध्ये ३ खर्ब ९१ अर्ब रुपैयाँमात्र उठेको छ । यो लक्ष्यको करिब ६० प्रतिशतमात्र हो । गत वर्ष लक्ष्यअनुसार भन्सार राजस्व नउठेको मात्र होइन, त्यसअघिको भन्दा करिब २३ प्रतिशत कम उठेको छ । आर्थिक वर्ष २०७८–७९ मा १९ खर्ब २० अर्बको सामान आयात भएको थियो, जसबाट सरकारले ५ खर्ब ६ अर्ब राजस्व असुली गरेको थियो । लक्ष्य भने ५ खर्ब ३० अर्ब रुपैयाँ उठाउने थियो । त्यो वर्ष लक्ष्यको ९५ प्रतिशत राजस्व संकलन भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७७–७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँबराबरको आयात भएकोमा ४ खर्ब ४३ अर्ब राजस्व उठेको थियो । त्यो आवमा सरकारले भन्सारबाट ४ खर्ब ४० अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा लक्ष्यभन्दा ३ अर्ब बढी उठेको थियो । यसैगरी आर्थिक वर्ष २०७६–७७ कुल आयात ११ खर्ब ९६ अर्बको भएकोमा ३ खर्ब ५ अर्ब राजस्व उठेको थियो । त्यो वर्ष सरकारको भन्सार राजस्व असुली गर्ने लक्ष्य ४ खर्ब ७३ अर्ब रहेकोमा लक्ष्यको ६४.४९ प्रतिशतमात्र उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय