
काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) ले भदौमा ब्याजदरमा हस्तक्षेप नगर्ने भएको छ । एनबिएले भदौमा लागू हुने निक्षेपको ब्याजदर मागअनुसार तय गर्न बजारलाइ नै छोड्न लागेको हो। वाणिज्य बैंकहरुले गत असार मसान्तसम्म ‘भद्र सहमति’का साथ निक्षेपको ब्याजदरमा एकरूपता कायम गरि व्यवसाय गर्दै आएका थिए ।
तर, बजारमा प्रसस्त लगानी योग्य रकम (तरलता) भएको भन्दै एनबिएले साउन महिनामै भद्र सहमति तोडेको थियो। जसलाई भदौमा पनि निरन्तरता दिन लागिएको एनबिएले जनाएको छ । राष्ट्र बैंकले अघिल्लो महिना लागू ब्याजदरमा १० प्रतिशत थपघट गरेर पछिल्लो महिनाको ब्याजदर तय गर्नुपर्ने व्यवस्था गरेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरूको मुद्धती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतसम्म थियो। साउनमा लागू हुने निक्षेपको ब्याजदरमा एनबिएले अघिल्लो पटकको सहमति खारेज गरेको हो।
साउनमा वाणिज्य बैंकहरुको मुद्धती निक्षेपको ब्याजदर न्यूनतम ७.२० प्रतिशत देखि १०.९३ प्रतिशतसम्म छ। वाणिज्य बैंकहरुले यही ब्याजदरलाई औसतमा गणना गरी १० प्रतिशत मार्जिनमा भदौमा ब्याजदर निर्धारण गर्न सक्छन्।
भदौ महिनाको ब्याजदर निर्धारण गर्नको लागि बैंकहरु धमाधम बैठक बस्न थालेका छन्। बिहीबार भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने भएकोले बैंकहरु आन्तरिक छलफलमा जुटेका हुन। अहिले ब्याजदर के गर्ने भन्ने विषयमा बैंकहरु उच्च व्यवस्थापन तहमा छलफल थालेका छन्। बैंकको लगानीयोग्य रकममा भएको घटबढका आधारमा ब्याजदर तय गर्ने तयारी गरिएको एक बैंकरले बताए।