२०८१ माघ २५ शुक्रबार

काठमाडौँ । केही महिना यता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने देखिएको छ । अघिल्लो त्रैमासको तुलनामा गत असारमा प्रायः बैंक तथा वित्तीय संस्थाको आधारदर घटेकाले ब्याजदर घट्ने देखिएको हो । आधार दर (बेस रेट) बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याज निर्धारण गर्ने आधार हो ।

आधार दरमा आएको परिवर्तनका आधारमा बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर बढाउने वा घटाउने गर्छन् । यसकारण आधार दर बढ्दा ब्याजदर महँगो हुन्छ भने घट्दा सस्तो । वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार गत असारसम्म ८ वटा वाणिज्य बैंकको आधार दर एकल अंक (१० भन्दा कम)मा झरेको छ । बाँकी १२ वटा बैंकको आधार दर भने १० प्रतिशतभन्दा माथि छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.७९ प्रतिशत छ भने कुमारीको सबैभन्दा धेरै १०.९० प्रतिशत छ ।

गत असारसम्म राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चार्टड, नेपाल इन्भेस्टमेन्ट मेगा, एभरेस्ट, नबिल, सिद्धार्थ, नेपाल र एनआईसी एसिया बैंकको आधार दर एकल अंकमा झरेको हो । २० वाणिज्य बैंकको औसत आधार दर १०.०५ प्रतिशतमा झरेको छ । जबकि चैत मसान्तसम्म औसत आधार दर १०.४८ प्रतिशत थियो भने ५ बैंकको मात्रै एकल अंकमा थियो । यद्यपि २०७९ असार मसान्तको तुलनामा भने औसत आधार दर बढी हो । २०७९ असार मसान्तमा बैंकहरुको औसत आधार दर ९.२२ प्रतिशत थियो ।

निक्षेपमा बैंकहरुले बचतकर्तालाई दिने ब्याजदर घटेकाले हालको ब्याजदर यथावत रहँदा आगामी दिनमा आधार दर थप घट्न जानेछ । लगानीयोग्य रकम (तरलता) अभावका कारण बैंकहरुले पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशतसम्म ब्याजदर दिँदै आएकोमा क्रमिक रुपमा घटेर हाल १० प्रतिशत हाराहारीमा झरेको छ ।

६ महिना अघि मुद्दती निक्षेपमा रहेको रकम अब परिपक्व भई नवीकरण हुँदा बैंकहरुले दिने ब्याज कम हुन्छ, जसले आगामी महिनामा आधार दर घट्दै जानेछ । निक्षेपको ब्याजदर थप बढ्न गएमा भने आधार दर महँगिन सक्छ । पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार बैंकहरुले महिनैपिच्छे कर्जाको ब्याज परिवर्तन गर्नुपर्ने व्यवस्था छ । हाल आधार दर नै क्रमिक रुपमा घट्दो अवस्थामा देखिएकाले ब्याजदर सामान्य घट्दै गएको छ । आधार दरमा निश्चित प्रिमियम जोडेर बैंकहरुले ऋणीका लागि ब्याजदर तोकिदिन्छन् । आधार दर परिवर्तन हुने गरे पनि प्रिमियम दर भने सुरुमा जति तोकिएको छ, त्यति नै स्थिर राख्नुपर्छ । प्रिमियम दर कति तोक्ने भन्ने सम्बन्धमा बैंकलाई निर्णय गर्न स्वतन्त्रता रहन्छ ।

यद्यपि केही क्षेत्रमा दिइने कर्जाको ब्याजदर भने आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । २ करोडसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप गरी ऋणको ब्याज तोक्नु पर्ने व्यवस्था छ ।

उदाहरणका लागि, कोही किसानले २ करोडमुनिको ऋण लिएर खाद्यान्न उत्पादन वा पशुपालन गर्न खोजेमा उसले ९ प्रतिशत आधार दर भएको बैंकबाट ऋण लिएमा २ प्रतिशत विन्दु प्रिमियम थपेर कुल ११ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने नीतिगत व्यवस्था छ ।

यीबाहेक व्यापारिक तथा अन्य प्रकृतिका कर्जामा भने आधार दरमा बैंकहरुले ५–६ प्रतिशतसम्म प्रिमियम दर जोड्ने गरेका छन् । प्रिमियम दर कति जोड्ने भन्ने सम्बन्धमा भने बैंकसँग ऋणीको सम्बन्ध, धितोको मूल्य, व्यवसायिक प्रकृति लगायतमा निर्भर रहन्छ । तसर्थ ऋण लिनेका लागि कम आधार दर भएको बैंक उपयुक्त मानिन्छ ।

ऋण लिनका लागि महत्वपूर्ण मानिएको आधार दर कुन बैंकको कति छ ?

बैंक आधार दर प्रतिशतमा (असार मसान्त)
राष्ट्रिय वाणिज्य बैंक ७.७९
स्टान्डर्ड चार्टर्ड ९.०२
नेपाल इन्भेस्टमेन्ट ९.३६
एभरेस्ट ९.४७
नबिल ९.५२
सिद्धार्थ ९.९१
नेपाल बैंक ९.९२
एनआईसी एसिया ९.९८
कृषि विकास १०.०६
सानिमा १०.१५
प्रभु १०.१६
ग्लोबल आईएमई १०.२०
एनएमबी १०.३७
सिटिजन्स १०.५१
प्राइम १०.५७
नेपाल एसबीआई १०.७४
माछापुच्छ्रे १०.७४
लक्ष्मी १०.७५
हिमालयन १०.८६
कुमारी १०.९०
औसत १०.०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय