२०८२ जेष्ठ १० शनिबार

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले बैंक तथा वित्तीय संस्थामा खोलेको रोमिट्यान्स खातामा ८८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो गत वैशाखसम्मको तथ्यांक हो । उक्त अवधिसम्म खुलेका रेमिट्यान्स खातामा संकलन भएको कुल निक्षेपमध्ये ८६.४ प्रतिशत मुद्दती निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीबाटै धेरै भन्दा धेरै रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले रेमिट्यान्स खातामा कम्तिमा एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । सोही अनुसार त्यस्ता खातामा बैंक तथा वित्तीय संस्थाले प्रचलितभन्दा बढी ब्याज दिइरहेका छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि उक्त व्यवस्थालाई निरन्तरता दिएको छ । सरकारको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा खाता खोली रेमिट्यान्स पठाएमा कम्तिमा एक प्रतिशत थप ब्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको उल्लेख छ ।

गत आर्थिक वर्षको साउनदेखि जेठसम्म रेमिट्यान्समार्फत मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ११ महिनासम्ममा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा पनि रेमिट्यान्स १३ प्रतिशतले बढेर ८ अर्ब ५१ करोड अमेरिकी डलर पुगेको छ ।

११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले बढेकाले रेमिट्यान्स बढेको हो । गएको ११ महिनामा ४ लाख ५९ हजार ४ सय १५ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय