
काठमाण्डौ । पछिल्लो दुई दिनमा बैंकिङ प्राणालीबाट १०९ अर्ब रुपैयाँ बाहिरिएको छ। आर्थिक वर्ष २०८०/८१ पहिलो र दोस्रो दिन प्राणालीबाट १०९ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको अन्तिम दिन प्रणालीमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो। जुन नयाँ आर्थिक वर्ष पहिलो दिन (साउन १ गते) २४ अर्ब र दोस्रो दिन ८५ अर्ब बाहिरिएको छ।
अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेपछि बैंकहरुबाट दुई दिनमा निक्षेप उल्लेख्य मात्रामा घटेको हो। यसअघि सरकारले स्थानीय तहको खातामा रहेको रकमको ५० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएकोमा पछि सीमा बढाएर ८० प्रतिशत बनाइएको थियो।
असार मसान्तसम्मका लागि मात्र यो सुविधा दिएको थियो। निक्षेप घटेपछि कर्जा निक्षेपअनुपात बढेर ८३ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको अन्तिम दिन ८१.६२ प्रतिशत थियो। यस्तै अन्तर बैंक कारोबार दर पनि बढेको छ। सोमबार अन्तर बैंक कारोबार दर बढेर ०.५३ प्रतिशत थियो। जुन मंगलबार आइपुग्दा ६.५१ प्रतिशत पुगेको छ।
निक्षेप घटेसँगै ऋण लगानी पनि १२ अर्ब रुपैयाँ घटेको छ। गत असार अन्तिम दिन ४८ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा साउन २ गतेसम्म आइपुग्दा घटेर ४८ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ।