
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्म स्वास्थ्य बीमा वापतको १३ अर्ब रुपैयाँ भन्दाबढी रकम भुक्तानी गरेको हो । बोर्डले यस अवधिमा १३ अर्ब ३७ करोड २९ लाख १५ हजार ८२३ रुपैयाँ भुक्तानी गरेको हो ।
बोर्डले आठौं पटकको दावी भुक्तानीमा सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको २ अर्ब ९२ करोड ९२ लाख ३६ हजार ४५४ रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ ।
बोर्डको असार २२ गते बसेको बैठकको निर्णय अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको पूर्ण तथा आंशिक फर्छौंट गरी बाँकी रकम भुक्तानी गरेको हो । यस अघि बोर्डले गत बैशाखमा बीमा वापतको १ अर्ब ८९ करोड ५२ हजार ६१८ रुपैयाँ दावी भुक्तानी गरेको थियो ।
त्यस्तै, गत पुस महिनामा बोर्डले स्वास्थ्य बीमा वापतको १ अर्ब ३२ करोड ६५ लाख ५० हजार ९०० रुपैयाँ दावी भुक्तानी गरेको थियो । बोर्डले मंसिरमा एक अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ र कात्तिक महिनामा एक अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ दावी भुक्तानी गरेको थियो ।
त्यसैगरी, असोज महिनामा स्वास्थ्य बीमा वापतको ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने भदौमा २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ दावी भुक्तानी गरिएको थियो ।
बोर्डले वास्थ्य बीमा कार्यक्रमको सुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा बापतको ४१ अर्ब ३७ करोड २८ लाख ३६ हजार रुपैयाँ भन्दाबढिको दाबी भुक्तानी गरिसकेको जनाएको छ ।
स्वास्थ्य बीमा गर्नेको सङ्ख्या ६८ लाख नाघ्यो
हालसम्म स्वास्थ्य बीमा कार्यक्रमको पहुँच ६७ लाख बढी जनसङ्ख्यामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या ६७ लाख २३ हजार ६९५ पुगेको हो ।
स्वास्थ्य बीमा गर्नेहरूमा सबैभन्दा धेरै झापामा रहेका छन् । झापामा ६ लाख ५७ हजार ९४८ जनाले बीमा गरेका छन् । त्यस्तै सुनसरीमा ४ लाख ८० हजार ४३३ र मोरङमा ४ लाख ८३ हजार रहेका छन् । हालसम्म चितवनमा ४ लाख ५० हजार ६६५ जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको छ ।
कुन प्रदेशमा कतिले गरे स्वास्थ्य बीमा ?
बोर्डका अनुसार हाल ७७ वटै जिल्लाहरूमा स्वास्थ्य बीमा लागु भएको छ । जसमध्ये कोसी प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या २० लाख ९२ हजार ८४६ रहेको छ । अन्य प्रदेशको तुलनामा यो सङ्ख्या सबैभन्दा बढी हो ।
त्यस्तै, मधेस प्रदेशमा ४ लाख ९० हजार ५३७ जना, बाग्मती प्रदेशमा १४ लाख २९ हजार ४४८ जना, गण्डकी प्रदेशमा ८ लाख ७६ हजार ४२३ जना रहेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा १० लाख १७ हजार ३०५ जना, कर्णाली प्रदेशमा ३ लाख ९९ हजार ८७६ जना र सुदूरपश्चिम प्रदेशमा ५ लाख १६ हजार ३६६ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।