
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने विकास ऋणपत्रको ब्याजदर पछिल्लो २ वर्ष यताकै न्यून भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै विकास ऋणपत्रको ब्याजदर पनि न्यून हुन पुगेको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार सरकारका लागि विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाएको छ । उक्त ऋणपत्रका आवेदकहरुले बोल गरेको औसत ब्याजदर अर्थात कट अफ रेट घटेर ६.३५ प्रतिशतमा आइपुगेको छ ।
सरकारले विकास निर्माणका लागि आवश्यक स्रोतको व्यवस्थापन गर्न लिने आन्तरिक ऋण संकलन गर्न विकास ऋणपत्र निष्काशन गर्छ । पछिल्लो समयमा बैंकिङ प्रणालीको ब्याजदर घट्दो क्रममा रहेको र अधिक तरलता भएको अवस्थामा विकास ऋणपत्रको ब्याजदर पनि घटेको हो ।
बिहीबार कायम भएको ब्याजदर २०७८ फगुन ३ गते यताकै न्यून हो । सो दिनको विकास ऋणत्रको ब्याजदर अर्थात कटअफ रेट ५.९६ प्रतिशत रहेको थियो । त्यसपछि निरन्तर बढेको विकास ऋणपत्रको कट अफ रेट करिब ११ प्रतिशतसम्म पुगेको थियो ।
विसं २०७९ पुस ५ गतेको विकास ऋणत्रको औसत ब्याजदर १०.९३ प्रतिशत पुगेको थियो । त्यसपछि निरन्तर घटेको विकास ऋणपत्रको ब्याजदर बिहीबारसम्म आइपुग्दा ६.३५ प्रतिशतमा आइपुगेको हो । यसभन्दा अघि यहि असार ५ गते निष्कासन भएको विकास ऋणपत्रको कट अफ रेट ६.९३ प्रतिशत कायम भएको थियो ।
पछिल्लो समयमा विकास ऋणपत्र मात्र नभई ट्रेजरी बिल्सको डिस्काउन्ट रेट, अन्तर बैंक दर लगायतका अल्पकालिन दरहरु घटेका छन् । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि रिभर्स रिपो जारी गरेपछि भने अन्तर बैंक दर रिभर्स रिपो रेट केही बढेको छ ।
बिहीबार राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेकोमा अप्रतिस्पर्धी आवेदकबाट आवेदन नै आएको छैन । उक्त ऋणपत्रका लागि २८ अवेदकले ९४ वटा आवेदन बुझाएको केन्द्रीय बैंकले जनाएको छ । निष्काशित कुल रकम नै प्रतिस्पर्धी बोलवाहरुलाई नै बाँडफाँड गरेको केन्द्रीय बैंकले जनाएको छ ।
विकास ऋणपत्रको ब्याजदर निर्धारण गर्दा अप्रतिस्पर्धीको भुमिका हुँदैन । कट अफ रेट तय गर्दा प्रतिस्पर्धीको बोल आवेदन मार्फत निर्धारण हुन्छ । सोही अनुसार कट अफ रेटमा अप्रतिस्पर्धीलाई छुट्याएको विकास ऋणपत्र बाँडफाँड हुन्छ । यसमा लगानी गर्ने लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउने राष्ट्र बैंकले जनाएको छ ।
बिहीबार ऋणपत्रमा प्रतिस्पर्धी सहभागीले अधिकतम १०.९३ र न्यूनतम २.६५ प्रतिशत ब्याज माग गरेका थिए । सामान्यत विकास ऋणपत्रमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी सहभागि गराइन्छ । निष्काशित कुल रकमको ८५ प्रतिशत प्रतिस्पर्धीलाई र बाँकी १५ प्रतिशत अप्रतिस्पर्धिलाई छुट्याइएको हुन्छ ।
“क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउँदैनन् भने गैर—बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले दुबैमा सहभागिता जनाउन सक्छन् । आवेदन दिँदा कुनै एकमा मात्र दिनुपर्नेछ ।