
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २ सय ७४ व्यक्ति तथा कम्पनीले ३४ अर्ब ५८ करोड रूपैयाँ लगानी भित्र्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । जेठमा मात्रै ५७ जना विदेशी लगानीकर्ताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) ल्याउन स्वीकृति पाएका छन् । उद्योग विभागका अनुसार हालसम्म नेपालमा ५ हजार ८ सय ५ विदेशी लगानीकर्ताले ४ खर्ब ५३ अर्ब ८४ करोड रूपैयाँको लगानी भित्र्याउने स्वीकृति पाएका छन् । जसबाट ३ लाख ७ हजार हाराहारी रोजगारी सृजना हुने अपेक्षा गरिएको छ ।
लगानी स्वीकृति लिनेमध्ये कतिले कति ल्याए भन्ने रेकर्ड राष्ट्र बैंकले राख्ने गरेको विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताए । स्वीकृति लिन आउनेले प्रतिबद्धता गरेकै परिमाणमा सबै रकम ल्याउने गरेका छैनन ।
चालु आर्थिक वर्षको जेठसम्म करिब २४७ वटा साना, २२ मध्यम र ८ ठूला प्रकृतिका उद्योगमा एफडीआई प्रस्ताव गरिएको छ । गत वर्षको जेठमा ५६ साना उद्योगमा र एउटा ठूलो परिमाणको उद्योगमा विदेशी लगानीको स्वीकृति लिने काम भएको थियो । १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०७६ ले साना उद्योगको दर्जामा राखेको छ । त्यस्तै, १५ देखि ५० करोड रुपैयाँसम्मको स्थिर पुँजी भएकालाई मझौला र ५० करोडभन्दा बढी स्थिर पुँजी भएकालाई ठूला उद्योगमा गणना गर्ने गरिएको छ ।
विदेशी लगानी ल्याउन स्वीकृति लिनेको सूची हेर्दा धेरैजसो चिनियाँ र भारतीय कम्पनी रहेका छन् । जसले ठूलो परिमाणमा लगानी गरिरहेको विभागको तथ्यांकमा छ । केही विदेशी कम्पनी भने अमेरिका, बेलायत, दक्षिण कोरिया लगायतका पनि रहेका छन् ।
त्यस्तै, चालु आवको ११ महिनामा प्रस्तावित एफडीआइ विशेषगरी सेवा र पर्यटन उद्योगमा केन्द्रित देखिन्छ । उद्योग विभागको अनुसार जेठ मसान्तसम्ममा स्वीकृति लिएका वैदेशिक लगानीमध्ये ४४ प्रतिशत सेवा क्षेत्र र ३८ प्रतिशत लगानी पर्यटन क्षेत्रका लागि हो । सेवा क्षेत्रमा १ सय १९ उद्योग र पर्यटन क्षेत्रमा १ सय ४ उद्योगमा वैदेशिक लगानी भित्र्याउन सम्बद्ध पक्षले स्वीकृति लिएका छन् ।
यो सँगै उत्पादनमुलकमा ९ प्रतिशत विदेशी लगानी रहने स्वीकृति लिइएको छ । जसमा २५ उद्योग पर्छन् । त्यस्तै, पूर्वाधारमा ३ प्रतिशत, सूचना प्रविधिमा ६, ऊर्जा र कृषिमा एउटा÷एउटा उद्योगमा लगानी ल्याउन स्वीकृति दिइएको छ । गत जेठमा मात्रै स्वीकृति लिनेमा ४५ प्रतिशत लगानी पर्यटन उद्योगमा भित्रिएको छ । गत महिना मात्रै पर्यटन क्षेत्रका २६ नयाँ उद्योगमा विदेशी लगानी भित्रिने भएको विभागले जनाएको हो ।