२०८१ माघ २४ बिहीबार

काठमाडौं । विश्वलाई कोरोनाले आक्रान्त पारेपछि धेरैले रोजगारी गुमाउँदा वैदेशिक रोजगारमा गएका ठूलो संख्यामा नेपालीहरु घर फर्किए । कोरोनाको पहिलो चरणमा सरकारले नै बिभिन्न चरणमा उद्दार गरेर डेढ लाख बढी नेपाली नागरिकलाई विदेशबाट फर्कायो । तर यसरी फर्किएकाहरु धेरै दिन देशभित्र टिक्न र रम्न सकेनन् । कारण यहाँ दोहोरिने उही बेरोजगारीको नियति । कोरोनाको दोस्रो चरण सुरु हुन दैनिक सातसयसम्म नेपाली नागरिक विदेशिएका थिए । तर कोरोनाको दोस्रो लहर सुरु भएपछि जारी गरिएको निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धले उड्न चाहनेहरु रोकिएका छन् ।

अझै पनि वैदेशिक रोजगार विभागले हरेक आइतबार र बुधबार श्रम स्वीकृति भने दिदै आएको छ । आफैमा विरोधाभाषपूर्ण देखिएको यो कार्यबीच विदेशबाट फर्कन चाहनेहरुको अवस्था भने दयनीय छ । दक्षिण एसियाकै अन्य मुलुकहरुले आफ्नो देशको झण्डाबाहक विमान पठाएर आफ्ना नागरिकको भने उद्दार गरे तर फर्कनका लागि टिकट काँटिसकेका नेपालीहरुको अवस्था भने दयनीय बनेको छ ।

उनीहरुमाथि कसैले न सोधखोज गरेको छ नत कसैले चासो नै देखाएको छ । स्मरणीय छ गत आर्थिक बर्षको नौ महिनामा ६ खर्ब २६ अर्ब रेमिट्यान्स देश भित्रिएको थियो भने यो आर्थिक बर्षको चैतसम्ममा १६ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको थियो ।

सरकारले भने विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई आगामी आइतबारदेखि फर्काउने तयारी थालेको छ । सरकारले पहिलो चरणमा कतारमा रहेका नेपालीहरु फर्काउने र मलेशियाबाट पनि चाँडै फर्काउने गरि तयारी थालेको छ । कोरोना महामारीले धेरै देशको अर्थतन्त्रमा धावा बोल्दा खाडीका मुलुकका रोजगारदाता दर्जनौ कम्पनीहरुको अवस्था पनि नाजुक बनेको छ । सरकारले श्रम स्वीकृति लिएको ६ महिनासम्म वैदेशिक रोजगारीमा नगए पुनः श्रम स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ ।

यो रोजगारीमा जानेहरुको सुरक्षाकै लागि हो भन्ने सरकारी तर्क छ । तर पुनः श्रम स्वीकृति लिएर जाँदा रोजगारदाता कम्पनीले काम नदिने गरेको पीडा पनि धेरै नेपालीको छ । कोरोनाका कारण कुन कम्पनीको पछिल्लो अवस्था के छ भन्ने बारेमा जानकारी नलिइ मेनपावर कम्पनी र कामदार स्वयं विदेश जान आत्तिने प्रवृतिले धेरै समस्याहरु उब्जेको सरकारी निष्कर्ष छ । बिभिन्न कारणले गर्दा बैदेशिक रोजगारी सुुरक्षित हुन नसक्दा यस्लाई थप व्यवस्थित र मर्यादिन बनाउने आवाज उठिरहे पनि सरकारले सम्बोधन गर्न नसक्दा समस्या झन बढेको विज्ञहरुको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय