
काठमाडौँ । कुकुरकाे खानाकाे लागि प्रयोग हुने छुर्पीको निर्यात बढेकाे छ । गत आर्थिक वर्षकाे ११ महिनाकाे तुलनामा चालु आर्थिक वर्ष साेही अविधमा १४.९६ प्रतिशतले छुर्पीको निर्यात बढेकाे हाे ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको १५ लाख ६३ हजार ३९० किलो छुर्पी निर्यात भएको भन्सार विभागले जनाएकाे छ । कुकुरकाे खानाअन्तर्गत पर्ने छुर्पी धेरै निर्यात हुने गरेकाे विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । ‘कुकुरको खानाका लागि नेपालबाट छुर्पी नै धेेरै निर्यात हुन्छ भने चाेकर भन्ने खाना आयात हुन्छ,’ उनले भने ।
गत आर्थिक वर्ष सोही अवधिमा २ अर्ब ५८ करोड ५ लाख ४२ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएकाे विभागकाे तथ्यांक छ । गत आर्थिक वर्ष साउनदेखि जेठसम्म १५ लाख ५२ हजार २२२ किलाे निर्यात भएको थियो । छुर्पी सबैभन्दा बढी क्यानडामा निर्यात हुने गरेकाे विभागकाे तथ्यांकले देखाउँछ । फिनल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत विभिन्न मुलुकमा पनि निर्यात हुन्छ ।