२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को वैशाखसम्म वार्षिक विनियोजित बजेटको ५८.४१ प्रतिशतमात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख ३१ गतेसम्म १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख रुपैयाँ खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

चालुतर्फ सात खर्ब ८६ अर्ब ७४ करोड अर्थात् ६६.४९ प्रतिशत, पुँजीगततर्फ एक खर्ब २५ अर्ब ६७ करोड अर्थात् ३३.०४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँ अर्थात् ५८.७९ प्रतिशतमात्रै खर्च भएको छ ।

चालुतर्फ तीन खर्ब ९६ अर्ब ४९ करोड, पुँजीगततर्फ दुर्ई खर्ब ५४ अर्ब ७० करोड र वित्तीय व्यवस्थातर्फ ९४ अर्ब ८७ करोड रुपैयाँ खर्च हुन नसकेको हो । सरकारले सो अवधिमा सात खर्ब ४६ अर्ब सात करोड रुपैयाँ बजेट खर्च गर्नुपर्ने हुन्छ ।

१० महिना अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५३.९ प्रतिशत अर्थात् सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । चालु आवका लागि सरकारले १४ खर्ब तीन अर्ब १४ करोड बराबर राजस्व संकलन लक्ष्य लिएको थियो । सरकारले राजस्व, अनुदान तथा अन्य क्षेत्रबाट सात खर्ब ९७ अर्ब ३४ करोड ५८ लाख प्राप्ति गरेको छ ।

जुन सरकारले सो अवधिमा गरेको खर्चभन्दा दुई खर्ब ५० अर्ब ४१ करोड ५२ लाख कम हो । सरकारले चालु आवको १० महिनामा कुल सात खर्ब ९७ अर्ब ३४ करोड ५८ आम्दानी गरेर १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख खर्च गरेको छ ।

१० महिनामा सात खर्ब ५६ अर्ब २५ करोड ३१ लाख राजस्व संकलन भएको छ । संकलित राजस्वमध्ये कर राजस्वतर्फ छ खर्ब ८४ अर्ब ६३ करोड, गैरकर राजस्वतर्फ ७१ अर्ब ६१ करोड र वैदेशिक अनुदानतर्फ चार अर्ब ८० करोड रुपैयाँ बराबर संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय