काठमाडौँ । सरकारले विभिन्न सहुलियतपूर्ण १० क्षेत्रमा कर्जामा झण्डै साढे २२ अर्ब रुपैयाँ अनुदान दिएको छ। गत फागुनसम्म सहुलियत कर्जाअन्तर्गत सरकारले २२ अर्ब ३९ अर्ब रुपैयाँ अनुदान दिएको हो।
यो ऋणीलाई सरकारले ब्याज अनुदानबापत भुक्तानी गरेको रकम हो। ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत हाल १० प्रकारका योजना सञ्चालनमा छन्।
सरकारले कृषि तथा पशुपक्षी व्यवसाय कर्जा, महिला उद्यमशील कर्जा, विना धितो कर्जा, धितोसहितको कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जामा अनुदान दिएको छ।
त्यस्तै दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालन कर्जा, प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम कर्जा र युवावर्ग स्वरोजगार कर्जामा अनुदान दिएको छ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम २०७९ फागुन मसान्तसम्ममा एक लाख ४८ हजार ४ सय ५४ ऋणीलाई कर्जा प्रवाह गरी सोको लागि हालसम्म रु.२२ अर्ब ३९ करोड ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । २०७९ फागुन मसान्तसम्ममा रु.२०८ अर्ब ९६ करोड सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ फागुन मसान्तमा रु.८० करोड पाँच लाख लगानीमा रहेको छ ।
शीतघर तथा खाद्यान्न भण्डारण घर स्थापना कार्यक्रमका लागि ब्याज अनुदान मापदण्ड, २०७३ मा भएको व्यवस्थाबमोजिम हालसम्म विभिन्न १३ वटा शीतघर तथा खाद्यान्न भण्डारण घरलाई रु.३९ करोड २३ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।
पुनरकर्जा सुविधाअन्तर्गत २०७९ फागुन मसान्तसम्ममा ‘क’ वर्गका १६ वटा वाणिज्य बैंक, ‘ख’ वर्गका दुई वटा विकास बैंक, ‘ग’ वर्गका एक वटा वित्त कम्पनी र ‘घ’ वर्गका १९ वटा लघुवित्त वित्तीय संस्थालाई असल कर्जाको धितोमा प्रदान गरिएको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष र साधारण पुनरकर्जा गरी कुल रु.सात अर्ब १२ करोड बराबरको पुनरकर्जा बाँकी रहेको छ ।
सहुलियतपूर्ण कर्जा उपयोग गरेका बैंकहरुमध्ये सबैभन्दा बढी कर्जा कृषि विकास बैंकले प्रवाह गरेको छ। बैंकले १५ हजार ७४९ जना ऋणीलाई २५ अर्ब रुपैयाँको कर्जा स्वीकृतिमा २१ अर्ब रुपैयाँ बक्यौता छ।
त्यसैगरी ग्लोबलले ८ हजार ऋणीलाई १८ अर्ब ४४ करोड लगानी गरेकोमा १३ अर्ब ३४ करोड बक्यौता छ। राष्ट्रिय वाणिज्य बैंकले १२ हजार ३८ जना ऋणीलाई दिएको १४ अर्ब ५५ करोड लगानीमा ११ अर्ब ७३ करोड रुपैयाँ बक्यौता छ।
गत फागुनसम्ममा सबैभन्दा कम सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेमा मल्टिपर्पस फाइनान्स छ। फाइनान्स कम्पनीले सबैभन्दा कम ३ जनालाई गरेको २ करोड ८२ लाख लगानीमा २१ लाख बाँकी छ।
विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी ५ हजार ९२५ जनालाई दिएको ७ अर्ब ३५ हजार लगानीमा ५ अर्ब ६० करोड बक्यौता छ।















