२०८२ असार ३० सोमबार

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्र मन्दीतर्फ गएको देखाएको छ । सरकार र विदेशी दातृ संस्थाहरूले गरेको अनुमानभन्दा तथ्यांक कार्यालयले यो वर्ष अर्थतन्त्रको विस्तार नाजुक देखाएको हो । बजेटमा आठ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

तर, विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका दातृ संस्थाहरूले भने ४ दशमलव १ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थिए । यस्तो अवस्थामा राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदनले यो वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने आँकलन गरेको छ ।

उपभोक्ता मूल्यमा भने जिडिपी १ दशमलव ८६ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ । सरकारले गरेको अनुमानभन्दा यो ५ दशमलव ८४ प्रतिशत तल हो । यस्तै, दातृ संस्थाहरूले गरेको भन्दा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ९४ प्रतिशत कम हुने देखिएको छ ।

यो वृद्धिसँगै नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यो वर्ष अर्थतन्त्रको आकार ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ छ । अंकका हिसाबले हेर्दा अर्थतन्त्रको आकार करिब सात खर्ब रुपैयाँ बढ्ने देखिन्छ । गत आर्थिक वर्ष ०७८/७९ मा आर्थिक वृद्धिदर ५ दशमलव २६ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ । यस्तै, आर्थिक वर्ष ०७७/७८ मा अर्थतन्त्रको विस्तार ४ दशमलव ४९ प्रतिशतले भएको अन्तिम तथ्यांक पनि तथ्यांक कार्यालयले जनाएको छ ।

बृहत् औद्योगिक समूहअनुसार समग्र औद्योगिक क्षेत्रलाई तीन भागमा विभाजन गरेर हेर्दा चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढेको छ भने प्राथमिक क्षेत्र र द्वितीय क्षेत्रको योगदान गत आर्थिक वर्षभन्दा घटेको छ । यस्तै, जिडिपीमा प्राथमिक क्षेत्रले २४ दशमलव ६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष प्राथमिक क्षेत्रको कुल मूल्य अभिवृद्धि दर स्थिर मूल्यमा २ दशमलव ६९ प्रतिशत वृद्धि हुने अनुमान छ । चालु आर्थिक वर्षमा धान लगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दूध, अण्डा तथा मासुको उत्पादनमा कमी आएको हुँदा यो क्षेत्रको योगदान बढ्न नसकेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको जिडिपीमा द्वितीय क्षेत्रको १२ दशमलव ९ प्रतिशत योगदान पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर शून्य दशमलव ५६ प्रतिशतले मात्र बढ्ने अनुमान छ । उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दरमा गत आवको तुलनामा कमी आएको हो ।

कार्यालयले आर्थिक क्षेत्रहरूको विस्तृत वर्गीकरण गरेर जिडिपीमा कुन क्षेत्रको कति योगदान पुग्ने भन्ने अनुमान गरेको छ । त्यसअनुसार १८ वटा क्षेत्र बनाएर योगदानलाई हेरिएको छ । त्यसमा पनि केही क्षेत्रहरूमा उपक्षेत्रहरू पनि समावेश गरिएको छ । त्यसअनुसार गत आवको तुलनामा यस वर्ष जिडिपीमा सामान्य रूपले बढ्ने क्षेत्रहरूमा यातायात तथा भण्डारण, विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, वित्तीय तथा बिमा क्षेत्र, आवास तथा भोजन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवा गरी सात क्षेत्रका क्रियाकलाप बढेका छन् ।

जिडिपीमा योगदान घट्नेमा कृषि वन तथा मत्स्य, खानी तथा उत्खनन्, निर्माण, उद्योग, थोक तथा खुद्रा व्यापार, घरजग्गा कारोबार, सूचना तथा सञ्चार, पानी आपूर्ति, ढल–फोहोर व्यवस्थापन तथा पुनः उत्पादन र अन्य सेवा गरी नौ क्रियाकलाप छन् । पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू र प्रशासनिक तथा सहयोगी सेवाको हिस्सा यथावत् रहने अनुमान गरिएको छ ।

प्राथमिक क्षेत्र

यस क्षेत्रअन्तर्गत कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्रहरू समावेश गरिएको छ । चाल आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४ दशमलव ६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७८÷७९ को तुलनामा चालु आर्थिक वर्ष ०७९÷८० मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर स्थिर मूल्यमा २ दशमलव ६९ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । चालु आर्थिक वर्षमा धान लगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा भएको सामान्य ह्रासले गर्दा यस क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसकेको निष्कर्ष कार्यालयको छ ।

द्वितीय क्षेत्र

यस क्षेत्रअन्तर्गत उद्योग, विद्युत्, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू र निर्माण क्षेत्र पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १२ दशमलव ९ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष ०७९÷८० मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा शून्य दशमलव ५६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । खासगरी उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारणले गर्दा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा गत आवको तुलनामा कमी आएको छ ।

सेवा क्षेत्र

यस क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार वित्तीय तथा बिमा क्षेत्र, घरजग्गा कारोबार, पेसागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ६२ दशमलव ४ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २ दशमलव ३३ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरूमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धि दर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा गत आवको तुलनामा कमी आएको हो ।

औद्योगिक वर्गीकरणअनुसार मूल्य अभिवृद्धि

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको २४ दशमलव १२ प्रतिशत तथा गैरकृषि क्षेत्रको ७५ दशमलव ८८ प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २ दशमलव ७३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । त्यसैगरी गैरकृषि क्षेत्रको मात्र १ दशमलव ९२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । आर्थिक क्षेत्रहरूको विस्तृत वर्गीकरणअनुसार वार्षिक वृद्धिदर निम्नानुसार हुने प्रारम्भिक अनुमान गरिएको छ ।

कृषि वन तथा मत्स्य

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४ दशमलव १२ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । यसै गरी यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर २ दशमलव ७३ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । धान लगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा भएको सामान्य ह्रासले गर्दा यस क्षेत्रको उल्लेख्य वृद्धि नहुने अनुमान रहेको छ ।

खानी तथा उत्खनन्

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले शून्य दशमलव ५१ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । खानी तथा उत्खनन क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर १ दशमलव ११ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा भएको गिरावटले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर पनि न्यून रहने अनुमान छ ।

उद्योग

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ५ दशमलव ३२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । वनस्पति, तोरी, सोयाबिन तथा सूर्यमुखी तेलको उत्पादनका साथै फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीको कारणले उद्योग क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि वृद्धिदर २ दशमलव शून्य ४ प्रतिशत ऋणात्मक हुने प्रारम्भिक अनुमान गरिएको छ ।

निर्माण

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ५ दशमलव ५२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २ दशमलव ६२ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान रहेको छ । चालु आवमा सार्वजनिक तथा निजी निर्माण कार्यमा आएको शिथिलता र निर्माण सामग्रीको आयात तथा आन्तरिक उत्पादनमा आएको कमीले यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर ऋणात्मक हुने अनुमान छ ।

यातायात तथा भण्डारण

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ६ दशमलव ७९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षमा १ दशमलव १४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । सवारीसाधनको आयातमा भएको कमीले गर्दा यस क्षेत्रको मूल्यअभिवृद्धि स्थिर मूल्यमा अघिल्ला सामान्य वर्षको तुलनामा न्यून रहेको देखिन्छ ।

आवास तथा भोजन सेवा

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १ दशमलव ९८ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सुधार भई १८ दशमलव ५६ प्रतिशतले उल्लेख्य वृद्धि हुने अनुमान रहेको छ । विदेशी पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि तथा आन्तरिक पर्यटनमा भएको उल्लेख्य सुधारको कारणले यस क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

सूचना तथा सञ्चार

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १ दशमलव ९७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । यस आवमा इन्टरनेट सर्भिस प्रोभाइडर्सको कारोबारमा तथा वायरलेस कम्युनिकेसनमा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षमा ४ दशमलव शून्य ७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।

वित्तीय तथा बिमा क्षेत्र

वित्तीय क्षेत्रभित्र बैंकिङ समूहमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरूको साथै सहकारी संस्थाहरूको कारोबार रहेका छन् । बिमा समूहमा बिमा समिति, जीवन बिमा, पुनर्बिमा र निर्जीवन बिमा कम्पनीहरूको कारोबारहरू रहेका छन् । त्यस्तै गरी सामाजिक सुरक्षा योगदान समूहमा नेपाल धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदिका कारोबारहरू रहेका छन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ७ दशमलव ३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । समग्र रूपमा यी क्षेत्रका क्रियाकलापमा भएको बढोत्तरीको कारणले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ७ दशमलव २९ प्रतिशतले कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।

घरजग्गा कारोबार सेवा

यस क्षेत्रअन्तर्गत मुख्यरूपमा जग्गा जमिनको खरिद बिक्री, जग्गा जमिन भाडामा लगाउने, अन्य घरजग्गा कारोबारका सेवा दिने तथा आफ्नै घरबाट उपलब्ध आवास सेवाहरू पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ८ दशमलव ३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । घरजग्गाको कारोबारमा मन्दी आएको भएता पनी निजी आवास तथा भाडाका क्रियाकलापहरूमा भएको बढोत्तरीले यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष ०७९÷८० मा २ दशमलव १७ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सार्वजनिक प्रशासन तथा रक्षा

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ८ दशमलव १५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा चालु आर्थिक वर्ष ०७९÷८० को कुल मूल्य अभिवृद्धि वृद्धिदर ५ दशमलव ३० प्रतिशतले हुने प्रारम्भिक अनुमान गरिएको छ । तीन तहको सरकारको सार्वजनिक प्रशासन तथा रक्षामा गरिएको खर्चको आधारमा मध्यवर्ती खर्चमा आएको कमीले यस क्षेत्रमा उक्त वृद्धि दर हासिल हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय