काठमाडौँ । बैंकहरूले ऋणीबाट समयमै उठाउन नसकेको साँवा, ब्याज पोहोरको तुलनामा दोब्बर भएको छ । बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म सबै वाणिज्य बैंकहरुको कुल कर्जामा उठ्न नसकेको निष्कृय कर्जा औसत ३.०२९ प्रतिशत पुगेको छ । गत वर्षको चैत मसान्तसम्म यस्तो कर्जा जम्मा १.२१ प्रतिशत थियो ।
सो अवधिसम्म वाणिज्य बैंकहरुको कुल कर्जा रकम ४३ खर्ब रुपैयाँ बराबर छ । चैत मसान्तसम्म १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी साँवा ब्याज रकम उठ्न सकेको छैन । उत्पादनको माग तथा घरजग्गामा देखिएको मन्दीले पनि निष्कृय कर्जा बढेको बैंकर बताउँछन् ।
‘बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशलगायत कारणले अहिलेको अवस्था आउँछ भन्ने अनुमान नै थियो ’ नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले भने । अब सरकारी खर्च बढ्ने र विस्तारै कर्जा असुली हुँदै जाने उनले बताए ।
निष्क्रिय कर्जालाई पनि अवधिअनुसार तीन किसिमले वर्गीकरण गरिएको छ । जसअन्तर्गत कमसल, शंकास्पद र खराब कर्जा पर्दछन् । भाखा नाघेको ३ महिनादेखि ६ महिनासम्म नतिरेको साँवा तथा ब्याजलाई कमसल, ६ महिनादेखि १ वर्ष पुगेमा शंकास्पद र १ वर्ष नाघेमा खराब कर्जा भन्ने गरिएको छ ।
निष्क्रिय कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले भाखा नाघेको अवधिअनुसार नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ । यदि भाखा नाघेको १ वर्ष पूरा भएमा अर्थात् खराब कर्जा भइसकेको अवस्थामा कर्जाको शत प्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ ।















