२०८१ माघ ११ शुक्रबार

काठमाडौं। चालु वर्षमा सरकार बजेट कार्यान्वयनको लक्ष्यमा असफल हुने देखिएको छ। चालु वर्ष सकिन ३७ दिन बाँकी रहँदा खर्च र राजस्व प्रगति निकै निराशाजनक रहेकाले आर्थिक सूचकले यस्तो देखाएको हो। चालु वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड खर्च र १० खर्ब ७२ अर्ब २८ करोड प्राप्तिको लक्ष्य छ। यो लक्ष्य पूरा गर्न सरकारले ३७ दिनमा ५ खर्ब ९१ अर्ब ५९ करोड खर्च गर्नुपर्ने छ। यस्तै प्राप्ति लक्ष्य पूरा गर्न २ खर्ब ३६ अर्ब ३२ करोड संकलन गर्नुपर्ने छ। तर निषेधाज्ञासँगै सरकारको राजस्व संकलनको गति सुस्त छ। चालु आर्थिक वर्षमा सकिन ३७ दिन बाँकी रहँदा लक्ष्यको २० प्रतिशत राजस्व अझै उठ्न बाँकी छ। चालु वर्षको ११ महिना लाग्दा सरकारले ७ खर्ब ३७ अर्ब ३६ करोड राजस्व संकलन गरेको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनुभन्दा अघि राजस्व संकलन लक्ष्य नजिक देखिएको थियो। संक्रमण बढेर जारी निषेधाज्ञासँगै घटेको हो। चालु आर्थिक वर्ष राजस्व शीर्षकबाट ९ खर्ब १२ अर्ब ९४ करोड संकलन गर्ने लक्ष्य छ। यो लक्ष्य पूरा गर्नका लागि सरकारले ३७ दिनमा १ खर्ब ७५ अर्ब ५८ करोड संकलन गर्नुपर्छ। लक्ष्य भेट्नका लागि दैनिक ४ अर्ब राजस्व संकलन हुनु पर्छ।

सरकारले प्रत्येक वर्ष गर्ने खर्च लक्ष्य पूरा गर्न सकेको छैन। यस्तै यो वर्ष पनि सोही रोग दोहोरिने देखिएको छ। चालु वर्षको ११ महिना सकिन लाग्दा सरकारले ८ खर्ब ८३ अर्ब ४ करोड मात्रै खर्च गरेको छ। जसमा १४ खर्ब ७४ अर्ब ६४ करोड खर्चको लक्ष्य राखिएको छ। सरकारले लिएको लक्ष्यमा दुई पटक पूर्णरूपमा खर्च गर्न नसकिने भन्दै संशोधन गरिसकेको छ। अर्थमन्त्रालयले पहिलो पटक बजेटको अर्धवार्षिक समीक्षामा संशोधन गरेको थियो। यस्तै दोस्रो पटक अध्यादेशबाट जारी गरिएको बजेटमा संशोधित खर्च लक्ष्य प्रस्तुत गरिएको थियो। ११ महिना सकिन लाग्दा सरकारले चालु शीर्षकमा ६ खर्ब ७४ अर्ब ५६ करोड खर्च गरेको छ। यो शीर्षकमा ९ खर्ब ४८ अर्ब ९४ करोड खर्च गर्ने लक्ष्य लिएको छ। यस्तै विकासतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड खर्च गर्ने भनिएकोमा १ खर्ब ३६ अर्ब ३३ करोड मात्रै खर्च भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय