२०८२ असार ३० सोमबार

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमा मुद्दती खातामा निक्षपको रकम बढ्दै गएको छ भने बचत खातामा हुने निक्षप भने घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ मसान्तसम्म विभिन्न मुद्दती खातामा कुल २७ खर्ब ५९ अर्ब रुपैयाँ जम्मा भएको छ ।

यो रकम कुल निक्षेपको ५८ प्रतिशत हो । गत वर्षको माघसम्म मुद्दतीमा जम्मा भएको रकम कुल निक्षेपको ५२.७५ प्रतिशत थियो । रकमसँगै मुद्दती निक्षेपको हिस्सा बढ्दै गएको बैंकर्स संघको तथ्यांक छ ।

यद्यपि बचत खातामा भएको रकम भने घट्दै गएको छ । गत वर्षको माघ मसान्तसम्म कुल १३ खर्ब ९ अर्ब रुपैयाँ बचत खातामा संकलन भएकोमा यो माघ मसान्तसम्म १२ खर्ब ३९ अर्बमा झरेको छ । कुल निक्षेपमध्ये बचत खाताको रकम हिस्सा २६.१४ प्रतिशत हो । गत वर्षको माघमा बचत खातामा भएको रकमको हिस्सा ३०.३८ प्रतिशत थियो ।

बचतसँगै चल्ती र कल खाताको हिस्सा पनि घटेको छ । गत माघ मसान्तसम्म चल्ती खातामा भएको रकमको हिस्सा कुल निक्षेपको ९.२५ प्रतिशत थियो भने अहिले ८.८५ प्रतिशतमा झरेको छ । त्यस्तै कल खाताको ६.४७ प्रतिशतबाट ५.६६ प्रतिशतमा झरेको छ । बचतको तुलनामा मुद्दती निक्षेपमा पाइने ब्याजदर उच्च भएकाले मुद्दतीप्रति निक्षेपकर्ताको आकर्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय