
काठमाडौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा निर्यात व्यापार भन्दा पेट्रोलियम पर्दाथाको आयात बढि भएको भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार स्थितिले देखाएको छ । चालु आबको फागुनसम्ममा मुलुकले गर्ने कुल निर्यात रकम भन्दा इन्धन आयातको रकम बढि रहेको छ ।
फागुन मसान्त सम्म १ खर्ब ९६ अर्ब ३६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । तर यही अवधिमा कुल निर्यात व्यापार १ खर्ब ४ अर्ब रुपैयाँ मात्रै रहेको छ । विभागका अनुसार फागुनसम्ममा ९८ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने ४४ अर्ब १५ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोल आएको देखिएको छ । यो सँगै ३८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ बराबरको एलपी ग्यास तथा १४ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको पनि बिभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले उपभोक्तासँग पैसा नभएका कारण बजारमा माग पक्ष कमजोर भएको भन्दै अर्थतन्त्र संकुचित अवस्थामा जान थालेको बताएका छन । गत वर्ष निर्यातमा ४६ प्रतिशत पाम आयल र सनफ्लावर तेलको अंश रहेको थियो । यी वस्तुको निर्यात घट्नासाथ समग्र निर्यातमा असर देखिएको हो ।
व्यापारमा दिगो निकासी हुन नसकेको कारण अहिलेकोे अवस्था आएको हो । निर्यातको हिस्सा बढ्न सक्ने सम्भावना न्यून भएकाले भविष्यमा अझै व्यापार घाटाको दायरा बढ्दै जान सक्ने अवस्था देखिएको छ । देशको अर्थतन्त्र आयातमुखी भएकाले आयात घट्नासाथ राजस्व पनि घट्ने हुँदा सरकारलाई दैनिक प्रशासनिक खर्चसमेत धान्न मुस्किल पर्न सक्ने संभावना पनि हावी भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पन्ज आइरन, रासायनिक मल, सुन, स्टेसनरी सामान लगायतको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधी, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्टस्, चाँदी लगायत वस्तुको आयात घटेको छ । निकासी व्यापारतर्फ यस अवधिमा १५ अर्ब १८ करोड १८ लाख रुपैयाँ बराबरको पाम आयल तथा ८ अर्ब ३७ करोड २२ लाख मूल्य बराबरको सोयाबिन आयल निर्यात भएको छ ।
नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पाम आयल, भटमासको तेल, पोलिस्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादन छन् । यस्तै अलैंची, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, ऊनी फेल्टका उत्पादन, चिया, पस्मिना सल, कुकुर–बिरालाको आहारा, कपडा, चाऊचाऊ, जडीबुटी, रोजिन एन्ड रोजिन एसिड, जुत्ता–चप्पल र नेपाली हाते कागज प्रमुख रुपमा निकासीको सूचीमा छन् ।
९ खर्ब ५३ अर्ब व्यापार घाटा
चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड पुगेको छ । विभागका अनुसार ८ महिनाको विवरणअनुसार यो व्यापारघाटा गत वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो । गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँबराबरको व्यापारघाटा भएको थियो ।
चालू आवको पहिलो ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँबराबरको निर्यात भएको छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो । गत वर्षको साउनदेखि फागुनसम्ममा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाखको आयात भएको थियो भने १ खर्ब ४७ अर्ब ७४ करोड ४६ लाख रुपैयाँको निर्यात भएको थियो ।गत वर्षको आयातको तुलनामा यस वर्ष १९.१३ ले कमी आएको छ भने निर्यात २९.०७ ले कमी आएको छ ।
विभागका अनुसार समग्र वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको छ । चालू आवको पहिलो आठ महिनामा कुल वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाखको भएको थियो । गत वर्ष आयातको हिस्सा ८९ प्रतिशत रहेकोमा यस वर्ष ९१ प्रतिशत पुगेको छ । निर्यातमा गत वर्ष १० प्रतिशत रहेकामा यस वर्ष ९ प्रतिशत रहेको छ ।
सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिबन्ध गत पुसदेखि हटाएपछि र एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान माघबाट हटाएपछि फागुनमा आयात बढेको थियो । मंसिर महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएकामा पुसमा १ खर्ब २९ अर्ब रुपैयाँको मात्र भएको थियो । माघमा १ खर्ब २६ अर्ब रुपैयाँको मात्र वस्तु आयात भएकोमा फागुनमा आयात बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।
विगतजस्तै साउनदेखि फागुनसम्ममा सबैभन्दा वढी व्यापारघाटा भारतसँग रहेको छ । भारतसँग मात्र ५ खर्ब ८२ अर्ब ५८ करोडको व्यापारघाटा रहेको छ । चीनसँग पनि क्रमिक रूपमा व्यापार घाटा वढ्दै गएर ८ महिनामा १ खर्ब ४५ अर्ब २६ करोड भएको छ । यसैगरी, इन्डोनेसियासँग ३० अर्ब १७ करोडको व्यापार घाटा भएको तथ्यांक रहेको छ । युनाइटेड अरब इमिरेटसँग पनि २४ अर्ब ५८ करोड रुपैयाँको व्यापार घाटा भएको छ । नेपालसँग बढी व्यापारघाटा भएका मुलुकमा क्रमशः अर्जेन्टिना, मलेसिया, युक्रेन, अस्ट्रेलिया, कतार, ओमान, साउदी अरेबिया, जोर्डन, बेल्जियम रहेका छन् ।
युद्धग्रस्त युक्रेनसँग मात्र आठ महिनामा १२ अर्ब ५३ करोड २७ लाखको व्यापारघाटा भएको छ । युद्धबीच पनि युक्रेनबाट १२ अर्ब ५४ करोड २४ लाखको सामान आयात भएको छ । निर्यात भने ९७ लाख ७ हजारको मात्र भएको छ । सबैभन्दा बढी व्यापार नाफा भएको मुलुक अल्जेरियासँग ७ करोड ३० लाख ३४ हजारको नाफा भएको छ ।
अल्जेरियाबाट कुनै पनि सामग्री आयात नभएको तथ्यांक भन्सार विभागको रहेको छ । अर्काे व्यापार नाफा भएको देश कम्बोडिया रहेको छ । कम्बोडियाबाट ४ करोड ४८ लाखको सामान आयात हुँदा ११ करोड ५९ लाखको निर्यात भएको छ । व्यापार नाफा भएका मुलुकमा क्रमशः नर्वे, उरुग्वे, चाद, अफगानिस्तान, लाटिभिया, इराक रहेका छन् । फागुनसम्ममा पेट्रोलियम पदार्थको आयातमा मात्र नेपालले २ खर्ब २७ अर्ब रुपैयाँ बिदेसिएको छ ।
नेपालबाट यस्तो वस्तुको निर्यात शून्य हुँदा यसमा शतप्रतिशत व्यापारघाटा हुन्छ । यस वर्ष ८६ अर्ब ९२ करोड रुपैयाँको आइरन तथा स्टिलको आयात भएको छ । यस्तो वस्तुको निर्यात ६ अर्ब २२ करोड रुपैयाँबराबरको भएको छ । इलेक्ट्रिकल मेसिनरी तथा उपकरणको आयात ६५ अर्ब ४६ करोड रुपैयाँको भएको छ । यस अवधिमा २२ अर्ब १८ करोड रुपैयाँको तरकारीजन्य वस्तु आयात भएको छ ।