
काठमाण्डौं । लघुवित्त वित्तीय संस्थाहरुको कर्जा डिफल्टर दिन प्रतिदिन बढ्दै गएको छ । कर्जा डिफल्ड बढेपछि लघुवित्त वित्तीय संस्थाले रिकभरीमा दबाब दिएसंगै ऋणीको संख्या पनि घट्न थालेको हो ।
चालु आर्थिक वर्षको मंसिर महिनामा थपिएका डिफल्टरको संख्या २० हजार ९ सय ६६ मात्र थियो । पुस महिनामा भने मंसिरसम्म डिफल्टर भएका एक लाख २२ हजार ऋणीले साँवा ब्याज भुक्तानी गरेर कर्जा नियमित गरेका थिए । तर, माघ महिनमा पुनः ९५ हजार ४९८ डिफल्टर थपिएको राष्ट्र बैंकले जनाएको छ ।
कोरोना माहामारीका कारण अर्थतन्त्रमा परेको असरबाट लघुवित्तका ऋणी समेत प्रभावित भएपछि कर्जाको सावाँ ब्याज भूक्तानीलाई नियमित गर्न नसकेपछि डिफल्टर बनेका हुन । पछिल्लो समयमा बढेको ब्याजदर र महंगीका कारण पनि लघुवित्तका ऋणीलाई थप असर पुगेको हो ।
लघुवित्तमा ऋणीको संख्या घट्ने, डिफल्टर बढ्ने मात्र नभई खराब कर्जा समेत बढेको छ । त्यसका साथै जोखिम व्यवस्था बापतको रकममा समेत अस्वभाविक वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको मंसिर महिनामा १५ अर्ब १२ करोड रुपैयाँ कर्जा नोक्सानी बापत छुट्याएका थिए । सो शिर्षकको रकम पुस महिनामा बढेर १५ अर्ब ६७ करोड रुपैयाँ पुगेको थियो । तर, माघ महिनामा भने लघुवित्तहरुको कर्जा नोक्सानी बापतको रकम करिब २ अर्बले बढेर १७ अर्ब ६६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
कोरोना महामारी संगै रुस युक्रेन युद्धले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ । विश्व अर्थतन्त्रमा देखिएको समस्याको असर नेपाली अर्थतन्त्रमा पनि देखियो । तर, अर्थतन्त्रका अधिकांस सुचक सकारात्मक देखिएको अवस्थामा पनि ग्रामीण अर्थतन्त्रको वित्तीय मध्यस्तता गरेको लघुवित्त क्षेत्रको समस्या घट्नु पर्ने झनै बढ्दै गएको अवस्था छ ।
चालु आर्थिक वर्षको माघ महिनासम्ममा लघुवित्तका ऋणीको संख्या ३२ लाख ३९ हजार ६ सय ३९ रहेका छन । यो अवधिसम्ममा कुल डिफल्टरको संख्या ७ लाख ३६ हजार २९४ पुगेको छ । डिफल्टरको संख्या कुल ऋणीको २२.७३ प्रतिशत हो।
पुस महिनामा कुल डिफल्टरको संख्या ६ लाख ४० हजार ७९६ थियो । यो संख्या कुल ऋणी संख्याको १९.६५ प्रतिशत थियो । मंसिरमा कुल ऋणस्को संख्या ३२ लाख ६० हजार १०८ थियो ।