
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका सीईओहरुले बैंकमाथि हुँदै आएकाे अराजक घटना नरोकिए बैंकको सेवा दिन नसक्ने बताएका छन् । बैंकिङ्ग क्षेत्रका सीईओहरुको ४ वटै संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, वित्तीय संघ र लघुवित्त बैंकर्सले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै देशभरिका विभिन्न जिल्लामा कर्मचारी माथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेका छन् । यस्तै भइरहे कर्मचारीकाे सुरक्षाकाे लागि बैंकिङ सेवा नै बन्द गर्ने उनीहरुले बताएका छन् ।
‘घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाही हुनुपर्छ, अराजक र उत्तेजित अभिव्यक्ति दिएर घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गर्दछौं, यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहन्छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने, कर्मचारीहको सुरक्षाको प्रत्याभूती हुनुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनीहरुकाे माग छ ।
बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले ग्राहकको सेवालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा देशभरी सेवा प्रदान गर्दै आउँदा कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति घोर आपत्ती रहेको उनीहरुले बताए ।
बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा अराजक घट्नालाई समयमै नियन्त्रण गर्न उनीहरुले माग गरेका छन् । यस प्रकारका क्रियाकला कसैको हितमा नहुने, असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने उनीहरुके भनाइ छ ।