२०८२ श्रावण १ बिहीबार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले अहिले बैंक तथा वित्तीय क्षेत्रलाई लक्षित गरेर दिएको अभिव्यक्ति चर्चामा छ। त्योसँगै वित्तीय तथा बैंकिङ क्षेत्रका मानिसमा त्रास र भयको अवस्था समेत सृजना गरिदिएको छ, त्यसमाथि प्रसाईँलाई कानुनी कारबाही गर्ने/नगर्ने प्रश्‍न त छँदैछ। प्रसाईँको उक्साहटमा घटना घट्दै गए त्यसलाई रोक्ने गृह प्रशासनलाई अर्को चुनौती थपिएको छ।

तर, यहीबीचमा देशभर बैंकिङ कसुरका अपराध बढेर गएका छन्। प्रहरीको तथ्यांकमा पछिल्लो समय सबैभन्दा धेरै बढेर गएको अपराध नै बैंकिङ कसुर हो। नियतवस बैंक तथा वित्तीय क्षेत्रको ऋण नतिर्ने हो भने कानुनतः रुपमा बैंकिङ कसुर मानिन्छ। प्रसाईँको उक्साहटमा कालो मोसो दल्दै हिँड्ने हो भने अर्को कानुन आकर्षित हुन्छ। उनले भनेको जस्तो पाँच दिन हिरासतमा राखेर छोड्ने अवस्था पक्कै बन्दैन।

प्रहरीमा सबैभन्दा धेरै चेक बाउन्सका उजुरीहरू पर्ने गरेका छन्। जसमा ठुला व्यवसायीदेखि सानासम्म समातिने गरेका छन्। २० हजारको चेक बाउन्सदेखि करौडौंको चेक बाउन्सका घटना पनि प्रहरीकहाँ पुग्ने गरेका छन्। पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावर ठेकेदार मनोज भेटवाल एक सातादेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनलाई चेक बाउन्सको आरोप लागेको छ।

३ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनलाई नियन्त्रणमा लिएको परिसरले जानकारी दिएको छ। परिसरमा चेक बाउन्समा पुग्ने ठूलो रकममध्येको यो एक घटना हो। एक युवकले काठमाडौं महानगरपालिका-३४ को कित्ता नम्बर ३६२, ५१ र ४५ मा बनेको घर कम्पाउन्डसमेत धितोमा राखेर साथीलाई ४ करोड २० लाख रुपैयाँ ऋण दिएका थिए।

कलेज पढ्दाका साथीले सञ्चालन गर्दै आएको हिमालयन डेकोर्स प्रालिलाई ऋण कर्जा चाहिएर उनीहरूले घर धितो राख्‍न दिएका थिए। तीन वर्षमा सबै कर्जा चुक्ता गर्ने बाचा पनि गरेका थिए। तर, तोकिएको मितिसम्म घर जग्गा ऋण तिरेर फुकुवाको प्रक्रिया नै अगाडि बढेन। पछि ती साथीले उनीहरूलाई मेगा (अहिलेको नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकको ४ करोड २० लाख रुपैयाँको चेक दिए।

तर, चेक साटिएन किनकि खातामा पुग्ने रकम थिएन। पछि चेक अनादर भएको घटनाहरू पनि प्रहरीमा पुगे। बैंकिङ कसुर अपराध भएको हुँदा पीडित पक्ष प्रहरीकहाँ पुगेको थियो। केही वर्ष अगाडि प्रहरी परिसरमा ४ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै उजुरी परेको थियो। जहाँ चिनेजानेका व्यक्तिलाई जुत्ता सम्बन्धी व्यवसाय गर्ने भन्दै ऋण दिएका थिए।

४ करोड रुपैयाँ ऋण दिएपछि लिने व्यक्तिले विश्वासको लागि आफ्नो नामको चेक काटेर दिएका थिए। २०७६ चैत १० गतेको मिति राखी एनआईसी एसिया बैंकको बत्तीसपुतली शाखाको चेक दिएका थिए। ऋण लिने व्यक्तिले आफ्नो खातामा पैसा आएपछि खबर गर्ने र निकाल्न भनेका थिए। तर, भाका भएको चार महिनासम्म ऋण दिने व्यक्तिलाई कुनै फोन सम्पर्क आएन।

त्यसपछि उनले त्यो रकम आफ्नो ग्लोबल आइएमई बैंकको पानीपोखरी शाखाका क्लियरिङको लागि जम्मा गरेका थिए। खातामा पर्याप्त मौज्दात नभएको भन्दै बैंकले चेक फिर्ता दियो। ऋण दिने व्यक्तिलाई सो घटनाको जानकारी दिएका थिए। तर, उनले कुनै वास्ता नगरेपछि आफू ठगिएको भन्दै प्रहरीकहाँ पुगेका थिए।

एक व्यक्तिले सिमेन्ट उद्योगको नाममा १ करोड रुपैयाँको चेक दिएका थिए। तर, जब चेक लिएर उनी एनआइसी एसिया बैंकको टेकुमा रहेको शाखामा पुगे, उनको चेकमा मौज्दात नभएको भन्दै सटही भएन। त्यसपछि उनी पनि अघिल्ला व्यक्ति झैँ प्रहरी कहाँ पुग्न बाध्य भए।

आफ्नो बैंक खातामा रकम नभएको जानीजानी चेक दिएकाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) को अनुसारको अपराध गरेको हुँदा निजलाई आवश्यक कारबाही गरी चेक बमोजिमको रकम एक करोड साँवा र सोको कानुन बमोजिम ब्याज समेत दिलाई भराइ पाउँ भन्ने ब्यहोरा सहित निवेदन पेस गरे।

बैंकिङ कसुरमा मुद्दा बढेर गएको प्रहरीको तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्षको पाँच महिनामा देशभर ३ हजार ८ सय ५० वटा बैंकिङ कसुरमा मुद्दा दायर भएका छन्। जसमा २ सय ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ। अघिल्लो आर्थिक वर्षमा देशभर ५ हजार ३ सय ८३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा १५ जना विदेशीसहित ४ सय ३६ जना पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर