काठमाण्डौं । फागुन महिनामा विकास बैंकहरुको ब्याजदर घट्ने भएको छ । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको बैठकले माघका लागि तय निक्षेपको ब्याजदर थोरै भए पनि घटाउने निर्णय गरेको हो ।
ब्याजदर घटाउने विषयमा विकास बैंकका सीइओहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई कुरेका थिए । समीक्षा सार्वजनिक भएपछि उनीहरुले माघका लागि तय ब्याजदर घटाउने निर्णय गरेका हुन् । विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बैठकले फागुनका लागि ब्याजदर घटाउने निर्णय गरेको हो।
एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाउने निर्णय भएको बताए । माघमा कायम ब्याजदरमा ०.२५ प्रतिशतको विन्दु घटाउँदै फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय भएको छ ।
हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए।















