
काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुले धिलो लिलाममा राखेका सूचनाले हरेक दिनका पत्रपत्रिका भरिभराउ देखिन्छन् । अझ कतिपय बैंकहरुले आम्दानी बढेको देखाउन आफ्नै स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्न सूचना राखेको पनि देखिन्छ ।
तर, बैंकले लिलामी गर्न लागेको धितो बिक्री हुन छाडिसकेको बैंकरको भनाई छ । बैंकले बिक्रीमा राखेको आफ्नै स्वामित्वको सम्पत्ति पनि बिक्री हुन छाडेको बताइन्छ । बैंकले लिलामीमा राखेको घरजग्गा ग्राहकले बैंकबाटै ऋण लिएर खरिद गर्ने हुन् । तर, पछिल्लो समय बैंकले तरलता अभाव देखाउँदै घरजग्गामा कर्जा प्रवाह गर्न छाडिसकेका छन् । त्यसमाथि उपभोक्ताले पनि चर्को ब्याजमा ऋण लिएर घरजग्गा खरिद गर्न चासो देखाएका छैनन् ।
घरजग्गा व्यवसायमा चरम मन्दी छाएपछि बैंकले धितो लिलाम र आफ्नै स्वामित्वको सम्पत्ती विक्री गर्न नसकेको बैंकरको गुनासो छ । बैंकले आफ्नो कर्जा नउठेपछि ऋणीले राखेको धितो लिलामी गरेर असुल गर्ने गर्छन् ।
नेपालमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा स्थिर सम्पत्तीय घरजग्गा धितोमा राख्ने चलन छ । अहिले बैंकले प्रवाह गरेको कुल कर्जा मध्ये दुई तिहाईभन्दा बढी कर्जामा घरजग्गा नै धितो राखिएको छ ।
तर, ऋण नउठेपछि धितो लिलाम गर्दा किन्ने मान्छे नभएर समस्या भएको नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले बताए । ‘न बैंकले ऋण उठाउनस सकेका छन्, न धितो लिलामी नै गर्न सकिएको छ’ उनले भने, ‘यसले बैंकहरुलाई पनि ठूलो समस्या भइरहेको छ ।’
ऋण दिने कोही नहुँदा धितो लिलाम सकार्ने मान्छे नभेटिएको हो । पछिल्लो समय सहकारी पनि कर्जा दिन सक्ने अवस्थामा छैनन् । सहकारीको पैसा घरजग्गामा थुप्रिएर समस्या निम्तिन थालेपछि नियामक निकायले घरजग्गामा लगानी नगर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएका छन् ।
एकाध सहकारी संस्थाहरु समस्यामा पर्न थालेपछि ग्राहकहरुले डरले धमाधम सहकारीबाट पैसा झिकेर बैंकमा राख्न थालेको न्यूरोडमा सञ्चालित एक सहकारीका सिइओले बताए । ‘संकट एउटा सहकारीमा आउँछ, त्यसको झड्का सबै सहकारीले सहनुपर्ने हुन्छ’ उनले भने, ‘अहिले सहकारीमा पैसा राख्ने भन्दा झिक्ने धेरै भइरहेको छ ।’
त्यसो त सहकारीबाट चर्को ब्याजको पैसा लिएर घरजग्गामा लगानी गर्दा फाइदा हुने सम्भवना पनि देखिदैन । आर्थिक मिडिया सञ्चालक संघ नेपाल(इमान) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बैंकर ज्ञवालीले वित्तीय क्षेत्रमा देखिएका समस्याको असर बैंकिङ क्षेत्रमा पनि परेको बताए । वित्तीय क्षेत्रमा देखिएको संकुचनले बैंकहरुको आम्दानी पनि खुम्चिएको उनको भनाई थियो ।
पछिल्लो समय बैंकको खराब कर्जा बढ्ने, उद्योगीको उधारो नउठेर समस्या बढ्दै गइरहेको छ । उधारो नउठ्दा असल ऋणीहरु पनि कालोसूचीमा पर्न थालेको भन्दै बैंकर ज्ञवालीले चिन्ता व्यक्त गरे ।
तरलता अभाव, चर्को ब्याजदर, मागमा आएको संकुचन र मूल्य वृद्धिका कारण व्यवसायीहरु ऋणको पासोमा पर्न थालेका छन् । कोभिडले थलिएको उद्योग व्यवसायहरु तंग्रिन नपाउँदै बैंकसहित समग्र अर्थतन्त्रमै समस्या निम्तिएपछि व्यवसायी संकटमा परेका हुन् ।
चालु आर्थिक वर्षको पहिलो साढे ६ महिनामा ऋण तिर्न नसकेर तथा चेक बाउन्स भएर कालोसूचीमा पर्ने व्यवसायीको संख्या तीन गुनाले बढेको छ । यो अवधिमा कर्जा सूचना केन्द्रको कालोसूचीमा १३ हजार २२६ ऋणी थपिएका छन् ।
बैंकर ज्ञवालीले अब बैंकले ब्याजदर घटाउनु पर्ने र ब्याजदर घटेपछि घरजग्गामा जाने कर्जा नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरे । ‘अब चालू पुँजी प्रकृतिको कर्जा लिएर घरजग्गामा लगानी गर्न रोक्नुपर्ने हुन्छ’ उनले भने, ‘कृषिको नाममा कर्जा लिएर घर जग्गामा जाने प्रवृत्तिलाई पनि नियन्त्रण गर्नुपर्छ ।’
यदि घरजग्गामा प्रवाह हुने कर्जामा थप कडाई भए घरजग्गा व्यवसाय ‘कोल्याप्स’ हुने व्यवसायीको चिन्ता छ । अहिले नै राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । काठमाडौं उपत्यकामा बैंकले घरजग्गाको फेयर मार्केट भ्यालूको ३० प्रतिशतमात्र कर्जा प्रवाह गर्छन् । ७० प्रतिशत रकम आफै जोहो गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा प्रवाह गर्ने कर्जामा ठूलो संकुचन आएको छ । चालु आवको पहिलो पाँच महिना (साउन-मंसिर)मा गत वर्षको सोही अवधिको तुलनामा घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा ९२.३ प्रतिशतले घटेको छ ।
यस वर्षको पाँच महिना घरजग्गा क्षेत्रमा दुई अर्ब ९६ करोड रुपैयाँमात्र कर्जा प्रवाह भएको छ । जबकी गत वर्षको सोही अवधिमा ३८ अर्ब ५७ करोड रुपैयाँ घरजग्गामा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।