
काठमाडौं । चालु आवको पहिलो चौमासिक, साउन–कात्तिकमा कुल १४ लाख ५२ हजार वटा मोबाइल सेटको आईएमईआई नम्बर दर्ता भएका छन् । यसमध्ये २८ लाख ७४ हजार ७ सय १३ वटा आईएमईआई नम्बर व्यवसायिक आयातकर्ताले र ३० हजार १ सय ८७ वटा व्यक्तिगत रुपमा दर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार साउनमा ९ लाख ९ हजार ६ सय ८५ वटा आईएमईआई दर्ता भएका थिए भने भदौमा ११ लाख २८ हजार ८ सय ७७ वटा आईएमईआई दर्ता भएका थिए । प्राधिकरणले भदौ ३१ मा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को सफ्ट लन्च गरेसँगै असोजमा ७ लाख ५९ हजार ७ सय २० वटा आईएमईआई नम्बर दर्ता भएको देखिन्छ ।
मासिक करिब ३ लाख ६३ हजार वटा मोबाइल सेटको आईएमईआई दर्ता हुने गरेको प्राधिकरणको अनुमान छ । ‘प्राय मोबाइल सेटमा २ वटा सिम प्रयोग हुने भएकाले सोही तथ्यका आधारमा प्रतिमहिना दर्ता भएका आईएमईआई नम्बरको अनुपातमा अनुमानित मोबाइल सेटको संख्या गणना गरिएको हो,’ जारी सूचनामा भनिएको छ । प्राधिकरणले २०७३ बैशाखदेखि आईएमईआई नम्बर दर्ता शुरु गरेको थियो ।
भन्सार छलेर अवैध रूपमा मोबाइल फोन भित्र्याउन नदिन, चोरी तथा आपराधिक कार्यमा मोबाइलको प्रयोग निरुत्साहित गर्न र हराएका फोन ट्रयाक गर्न सजिलो बनाउने उद्देश्यले प्राधिकरणले आईएमईआई दर्ता सुरु गरेको थियो । एमडीएमएस प्रणाली ल्याएसँगै प्राधिकरणले आईएमईआई दर्ता नभएका फोन नचल्ने बनाउने तयारी गरेको छ । यद्यपि, प्रणाली विवादमा आएसँगै पूर्ण रूपमा लागू हुन सकेको छैन ।