
काठमाडौं । नयाँ वर्षको पहिलो करोबारमा बढ्ने नेप्सेको प्रवृत्ति यसपटक पनि दोहोरिएको छ। नेप्सेले आफ्नो पछिल्लो ट्रेण्डलाई पछ्याउँदै २०२३ लाई पनि हरियालीका साथ स्वागत गरेको हो।
पछिल्लो दश वर्षको तथ्यांक अनुसार नेप्सेले नयाँ वर्षलाई हरियालीका साथ स्वागत गर्ने गरेको छ। अपवाद बनेका केही नयाँ वर्ष बाहेक प्रत्येकमा नेप्सेको बढोत्तरी देखिन्छ।
२०२२ लाई बिदा गरे लगत्तै खुलेको २०२३ को पहिलो कारोबारमा पनि नेप्सेले दोहोरो अंकको वृद्धि समात्यो। कारोबार पनि आक्रामक देखिन्छ। पछिल्लो ९६ कारोबार दिन यता कै सर्वाधिक कारोबार भएको हो। २०२३ को पहिलो किनबेच रकम ४ अर्ब रुपैयाँ नाघेको छ। २०२२ लाई विदाई गर्दा अन्तिम कारोबार २ अर्ब ८६ करोड रुपैयाँ थियो।
निजी क्षेत्रको मागप्रति नयाँ सरकार सकारात्मक भएपछि सेयर बजारको कन्फिडेन्स पुनरागमन भएको जानकारहरु बताउँछन्। ब्रोकरहरु पनि अर्थमन्त्रीको प्रभावका कारण लगानीकर्तामा उत्साह फैलिएको तर्क गर्छन्। २०२२ को अन्तिम सातादेखि नै बजार बढ्दो छ।
नयाँ वर्षमा लगानीकर्ताको सेयर रोजाइमा पनि परिवर्तन देखिन्छ। बढि उतारचढावयुक्त सेयर छाडेर इन्स्योरेन्स सेक्टरमा लगानी केन्द्रित हुन थालेको छ। २०२२ लाई विदाई गर्दै गर्दा विकास बैंक, फाइनान्स र जलविद्युत जस्ता सेयरमा आकर्षण बढी थियो।
२०२३ मा क्षेत्रगत परिवर्तनको पहिलो वेभ लगानीकर्ताले आइतबार अनुभव गरेका हुन्।