
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गर्नुभएको छ । सोमबार अर्थमन्त्री नियुक्तिपछि पदभार ग्रहण गर्दै उहाँले अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा अर्थमन्त्री पौडेलले विज्ञसँग सुझाव लिएर अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बताउनुभएको छ ।
अर्थतन्त्रका चुनौतीका कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्ने, पहिचान, समाधान गर्ने भन्दै उहाँले चिन्तित भएको अर्थ जगत्लाई आश्वस्त बनाई समाधान गरिने बताउनुभयो । चालु खर्च घटाउन र पुँजीगत खर्च बढाउने विषय आफ्नो प्राथमिकता हुने भन्दै उहाँले सबैभन्दा पहिला अर्थतन्त्रका समस्या पहिचानका लागि विज्ञका सुझावका आधार चुनौतीहरू समाधान गरिने बताउनुभयो । उहाँले अर्थतन्त्र संकटको डिलमा रहे पनि काबुबाहिर नरहेको बताउनुभएको छ ।
यसैबीच निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको दाबी गर्नुभएको छ । जाँदाजाँदै आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो एक वर्षमा रुस-युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भए पनि त्यसमा सुधार हुँदै आएको उहाँको जिकिर छ ।
बाहृय कारणले नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको उल्लेख गर्दै मन्त्री शर्माले आयात प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने चाप रहेको बताउनुभयो । ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
शोधनान्तर स्थिति २० अर्बले बचतमा रहेको, रेमिट्यान्स आप्रवाहमा सुधार आएको र विदेशी मुद्रा सञ्चितिमा समेत सुधार भएको उहाँले बताउनुभयो । अर्थतन्त्रलाई ठूला–ठूला परिघटनाबाट परेको प्रभावबाट बचाउँदै अघि बढाउन आफू सफल भएको दाबी गर्दै शर्माले चुनावलगायतका कारण पुँजीगत खर्च धेरै नभए पनि अब बढ्ने जिकिर गर्नुभयो ।
एक खर्ब बराबरका विभिन्न परियोजनाको टेण्डर भइसकेको, सरकारले चार खर्ब बराबरको भुक्तानी गर्ने दायित्व बाँकी रहेकाले पुँजीगत खर्च बढ्ने उहाँको दाबी थियो । साथै मन्त्री शर्माले चालु आर्थिक वर्षको छ महिनामा कुल खर्च २५.२६ प्रतिशत भएको, चालु खर्च ३१.७४ प्रतिशत र पुँजीगत १०.१७ प्रतिशत भएको जानकारी दिनुभयो ।