
काठमाडौं । नियमविपरीत बढाएको ब्याज बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ऋणीलाई फिर्ता गरेका छन् । २५ वटा वाणिज्य बैंकहरुलेअनाधिकृत रुपमा प्रिमियम बढाएर असुल गरेको करिब साढे ४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज बैंकहरुले फिर्ता गरेका हुन् ।
न्यूनतम ४० लाख रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म प्रिमियम बढाएर असुल गरेको ब्याज फिर्ता गरेका छन् । सुरुमा बैंक र ऋणीबीच सम्झौता गरेर ऋण प्रवाह गरेपछि कर्जाको अवधिभर (परिपक्वको अवधि) प्रिमियम (आधार दरमा थप गर्ने ब्याजदर) बढाउन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।
उक्त निर्देशनविपरीत परिपक्वको अवधि नसकिँदै बैंक तथा वित्तीय संस्थाले प्रिमियम बढाएर ग्राहकबाट बढी ब्याज असुल्दै आएका थिए । निर्देशनविपरीत असुलेको बढी ब्याज फिर्ता गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भनेको थियो । सोही निर्देशनअनुसार २५ वाणिज्य बैंकले ४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज फिर्ता गरेका हुन् ।
बैंकहरुलाई आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणको प्रारम्भिक स्वीकृत पाएका २५ वटा बैंकहरुले मात्रै ४ अर्ब ६६ करोड रुपैयाँ अनाधिकृत रुपमा प्रिमियम बढाएर ब्याज असुल गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ ।
उक्त रकम फिर्ता गर्ने शर्तमा वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिएको र अधिकांश बैंकहरुले उक्त रकम फिर्ता गर्ने अथवा असुल गर्नुपर्ने ब्याजमा मिलान गरिरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
अहिलेसम्म कृषि विकास बैंकले भने वित्तीय विवरण राष्ट्र बैंकमा पेश नै गरेको छैन । कृषि विकास बैंकले पनि फिर्ता गर्नुपर्ने देखिएमा उक्त रकम अझै बढ्नसक्ने छ ।
बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज बढाएकाले घटाउन मात्र गर्दै निजी क्षेत्रबाट चर्को दबाब आइरहेको समयमा नियमविपरीत असुली गरेको ब्याज फिर्ता गर्नु नै पर्ने बाध्यकारी निर्देशन राष्ट्र बैंकले दिएको थियो ।