२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । वित्तीय प्रणालीमा तरलताको अभावका कारण ७० प्रतिशत उद्योगी व्यवसायीले थप लगानीको योजना स्थगित गरेका छन् । झनै पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदर र बजारमा बस्तु तथा सेवाको मागमा उल्लेख्य गिरावट आएपछि उद्योगी व्यवसायीहरूले थप लगानीको योजना स्थगित गरेका हुन् । बजारमा चरम मन्दी भएपछि थप लगानीको योजनामा रहेका उद्योगी व्यवसायी ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् ।

समग्रमा बजारमा माग नै करिब ३० प्रतिशत पुगेको र लगानीका लागि वित्तीय संस्थाबाट ऋण नै नपाइने कारणले नयाँ लगानीका योजना थाती बसेका हुन् । यसबाहेक माग र बजारको अभावले गर्दा डेढ दर्जन स्टिल उद्योगले उत्पादन बन्द गरेका छन् भने ६ उद्योग पूर्ण रुपमा बन्द भएका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा सर्वेक्षणमा अधिकांश व्यवसायीले थप लगानीको योजना स्थगन गरेको पाइएको छ । परिसंघले गरेको सर्वेक्षणमा ६९.४४ प्रतिशत व्यवसायीले थप लगानीको योजना रोकेर राखेको देखिएको हो । सबैभन्दा बढी अटोमोबाइल्स क्षेत्रका नयाँ व्यवसायीले आफ्नो लगानीको योजनाबाट पछि हटेका छन् ।

अटोमोबाइल्स क्षेत्रमा शतप्रतिशत नै नयाँ व्यावसायिक योजना रोकिएको सिएनआईको सर्वेक्षणमा उल्लेख छ । गएको वैशाखदेखि सवारी साधनको आयातमा प्रतिबन्ध लागेपछि यो क्षेत्रमा कुनै पनि नयाँ लगानीको योजना व्यवसायीले बनाएका छैनन् ।

मंगलबारको मन्त्रिपरिषद बैठकले विगत ८ महिनादेखि लगाएको पेट्रोलियम कार तथा १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमतासम्मका मोटरसाइकल लगायत वस्तुको आयात पुसदेखि खुला गर्ने निर्णय गरेको थियो । अझ भएकै योजनाबाट पछि हटेका छन् । त्यस्तै, फुटवेयर र औषधीजन्य उद्योगको क्षेत्रका शतप्रतिशत व्यवसायी नयाँ लगानीका योजनाबाट पछि हटेका छन् । यसैगरी कृषि क्षेत्रमा ८५.७१ प्रतिशत नयाँ लगानी रोकिएको छ ।

बजारमा माग निरन्तर घट्दै गएपछि कृषिजन्य व्यवसाय विस्तारको योजना बनाएका व्यवसायी पनि पछि हटेका हुन् । अत्यावश्यक उपभोग्य वस्तुसँग जोडिएको कृषि क्षेत्रमै थप लगानीबाट व्यवसायी पछि हटेका हुन् ।

यसैगरी सिमेन्ट उत्पादनमा ८३.३ प्रतिशत, इन्जिनियरिङ तथा निर्माण क्षेत्रको ७१.४ प्रतिशत, ई–कमर्स क्षेत्रको ५० प्रतिशत, एफएमसीजी क्षेत्रको ४१.७ प्रतिशत, ग्यासमा ५० प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ४५.५ प्रतिशत, अन्य उत्पादन मुलक उद्योगको क्षेत्रमा ७२.२ प्रतिशत उद्योगी व्यवसायीको नयाँ लगानी गर्ने योजना रोकिएको सर्वेक्षणमा उल्लेख छ ।

यसैगरी प्लाष्टिक उत्पादन उद्योग क्षेत्रमा ८० प्रतिशत, घरजग्गा क्षेत्रको ४० प्रतिशत, साना तथा मझौला उद्योग क्षेत्रको ४२.९ प्रतिशत, स्टिल क्षेत्रको ८५.७ प्रतिशत र गार्मेन्ट क्षेत्रको ८५.७ प्रतिशत नयाँ लगानी रोकिएको सर्वेक्षणमा उल्लेख छ । समग्रमा भने नयाँ व्यावसायिक योजनाको लगानी ६९.४४ प्रतिशतले रोकिएको छ ।

नयाँ व्यवसायी योजनाका लगानी रोकिनुको प्रमुख कारण बजार माग घट्नु नै हो । बजार माग घटेसँगै उत्पादन समेत कमी भएको छ । जसका कारण व्यवसायीहरुले नयाँ व्यवसायिक योजनामा लगानी गर्न तयार भएका छैनन् ।

बजारमा माग अत्यधिक कमी, उद्योगलाई लगानी गर्न आवश्यक पर्ने रकम बैंक तथा वित्तिय संस्थासँग अभाव र चर्को व्याजदरका कारण प्रत्यक्ष औद्योगिक क्षेत्रमा परेको छ । यसले गर्दा भैरहवास्थित एभरेष्ट रोलिङ्ग मिल, गोयन्यका स्टिल, पञ्चकन्या स्टिल, नवलपरासीस्थित सिद्धिलक्ष्मी (समृद्धि) स्टिल, काठमाडौं स्टिल, कपिलवस्तुस्थित बिजय स्टिल, बारास्थित साख स्टिल, पर्सास्थित हिमाल स्टिल र रौतहटस्थित गोदाबरी स्टिल उद्योगले पछिल्लो करिब ५ महिनादेखि उत्पादन नै बन्द गरेका छन् ।

यसैगरी भैरहवास्थित एसआर स्टिल, विनायक स्पात (याक), रत्न आयरन, पर्सास्थित गोयल स्पात र शालिमार स्टिल तथा मोरङ्गस्थित आरती स्टिल उद्योगले पूर्ण रुपमै बन्द भएका छन् । उत्पादन बन्द भएको र बन्द भएको उद्योगका कारण ठूलो परिमाणमा बेरोजगारी समस्या पनि सिर्जना भएको छ ।

सीएनआईकै सर्वेक्षणले उद्योग व्यवसाय चरम मन्दीमा देखिएसँगै पहिलो त्रैमासमा ७८ प्रतिशतसम्मले बजार माग घटेको उल्लेख छ । सर्वेक्षणमा समग्रमा माग २८ प्रतिशतले माग घटेको छ भने अटोमोबाइल ७८ प्रतिशत र स्टिलको मागमा ६१ प्रतिशतको गिरावट आएको देखिएको छ ।

सीएनआईले आफ्ना सदस्यहरुमध्ये विभिन्न क्षेत्रका १ सय ८ वटा उद्योग–व्यवसायीसँग गरेको सर्वेक्षणको नतीजाअनुसार मुलुकको समग्र माग नै २८ प्रतिशतभन्दा धेरैले घटेको छ । यसको सीधा प्रभाव उद्योगी व्यवसायीहरूको कारोबारमा परेको देखिन्छ ।

साना तथा घरेलु उद्योगको माग र कारोबारमा पनि तीव्र कमी आएको छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्ने यो क्षेत्रको माग ३३ दशमलव ७ प्रतिशतले घटेको छ भने कारोबार रकममा ३६ दशमलव ३ प्रतिशतको कमी आएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले खस्किँदो आर्थिक वातावरणको प्रभाव लगानीमा देखिएको बताउँछन् । कुनै पनि क्षेत्रका व्यवसायीमा उत्साहित भएर लगानी गर्ने योजनामा नभएको उनले बताए ।

‘अर्थतन्त्रमा देखिएका समस्या सबै कुरा आपसमा जोडिएका छन् । पैसाको प्रवाह भएन । उच्च व्याजदर पनि भयो र माग पनि भएन । यस्तो अवस्थामा कसैले पनि थप लगानीको योजना बनाउनै सक्दैन,’ उनले भने ।अहिलेको समयमा लगानीका स्रोतको खोजी नै मुख्य भएको उनको भनाई छ । वित्तीय स्रोतको उपलब्धतता यसै पनि साँघुरो भएको नेपालमा विदेशी लगानी ल्याउनका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।

‘एफडीआई पनि यस्तो बेला आउन गाह्रो हुन्छ । एफडीआई ल्याउन सकिने ठाउँमा काम गर्नुपर्छ । जस्तो विद्युतको पीपीए खोल्नुपर्छ । किन आलटाल भइरहेको छ । एफडीआई ल्याउन सकिने ठाउँ एउटा त्यो हो । विदेशबाट लगानी ल्याउनेलाई प्रोत्साहन गर्नुपर्छ । बाहिरबाट पनि पैसा आउने र भित्रको पनि पैसा आउने कुरा हेर्नुपर्छ,’ उनले भने ।

गएको आर्थिक वर्षको पछिल्लो ९ महिना चरम दबाबमा रहेको अर्थतन्त्रमा पछिल्लो समय केही क्षेत्रका उद्योग उत्पादन बन्द गर्ने अवस्थामा पुगेका छन् । विशेषगरी निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो उत्पादन कि धेरै कटौती गरेका छन् कि निश्चित युनिट बन्द गरेका छन् ।

लगानी प्रतिबद्धता पनि घट्यो

उद्योग विभागको तथ्यांकबाट पनि उद्योग दर्ता तथा लगानी प्रतिबद्धता रकममा समेत कमी देखिएको छ । तथ्यांककै आधारमा भन्ने हो भने उद्योगी व्यवसायीहरूमा लगानीको उत्साह घटेको पाइएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा १०२ उद्योग दर्ता भएका छन् ।

गत वर्षको यही अवधिमा ११६ वटा उद्योग दर्ता भएका थिए । कोरोना महामारीको गहिरो प्रभावबाट माथि नउठेको गत वर्ष भन्दा पनि कम उद्योग दर्ता हुनुबाट यो वर्ष व्यवसायीको आत्मविश्वास झन खस्किएको देखिन्छ ।

उद्योग दर्ताको संख्या मात्र होइन उद्योगको आकार वा उनीहरूले गर्नसक्ने लगानी सक्षमता पनि यो अवधिमा घटेको छ । विभागका अनुसार यो वर्षको चार महिनामा दर्ता भएका उद्योगले १ खर्ब ८ अर्ब लगानी गर्नसक्ने प्रतिबद्धता गरेका छन् । लगानीको प्रतिबद्धताको ठूलो हिस्सा जलविद्युत क्षेत्रको हो । ठूलो लगानी हुने जलविद्युत क्षेत्रका २३ उद्योगले ७६ अर्ब ४९ करोड लगानी गर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै १५ वटा होटलले १२ अर्ब २२ करोड लगानीको प्रतिबद्धतता गरेका छन् ।यो लगानी प्रतिबद्धता पनि वर्षको तुलनामा २६ अर्बले न्यून हो । गत वर्षको यही अवधिमा १ खर्ब ३४ अर्ब लगानी गर्ने प्रतिबद्धता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर