काठमाडौं । मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श विहीवारदेखि शुरू गरेको छ । समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले जनाएको हो । नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स प्रालिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए । जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ । यसबाट स्वयं विरामीको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।
भौगोलिक विकटता एवं विरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्नुपर्ने अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुने छ । सामान्यतया रोगले च्यापेर थला नपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहाने अधिकांशलाई अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगी सिद्व हुने कम्पनीले जनाएको छ ।