
काठमाडौं। कडा निषेधाज्ञाको समयमा सरकारी संस्थान नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको मोबाइल भ्यानमार्फत अत्यावश्यक वस्तु बिक्री गर्ने भएको छ। काठमाडौं उपत्यकामा खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर समेत एक साताका लागि बन्द गर्ने निर्णय भएको थियो। जेठ १४ देखि २० गतेसम्म खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णयको विरोध भएको थियो। यो विरोधपछि उपभोक्ताका प्रतिनिधिसमेत राखेर कतै अभाव भएमा दुवै संस्थाको मोबाइल भ्यानमार्फत बिक्री गर्ने निर्णय भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मोबाइल भ्यानमार्फत अभाव भएका ठाउँमा चामल, तेल र गेडागुडी बिक्री गर्ने बताउँदै सम्पर्क नम्बरसहितको सूचना निकाल्ने जानकारी दिए। दुवै कम्पनीले अनलाइनमार्फत खाद्य सामाग्रीको माग संकलन गर्ने र गाडीमार्फत आपूर्ति गर्नेछन्। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमारराज राजभण्डारीले उपभोक्ताहरुलाई अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिने गरि मोबाइल भ्यान परिचालन गरिने बताए। खाद्य कम्पनीका विभागीय प्रमुख प्रेम थापाले प्रशस्त खाद्यान्न मौज्दात रहेको र अनलाइन डेलिभरी दिन सक्ने स्थितिमा आफूहरु रहेको बताए।