
काठमाडौं । सुनकोसी मरिन डाइभर्सनको मुख्य सुरुङ खन्ने काम १ महिनामा ४५० मिटर सकिएको छ। एक महिना अगाडि सो आयोजनाको सुरुङ खन्ने काम टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरु गरिएको थियो। सुनकोशी मरिन डाइभर्सन राष्ट्रिय बहुउद्धेश्यीय आयोजनाका निर्देशक मित्र बरालले हाल टीबीएम मेसिनले मुख्य सुरुङ खन्ने काम ४५० मिटर सम्पन्न भएको बताए।
‘हाल यसको मुख्य सुरुङ खन्ने काम ४५० मिटर सम्पन्न भएको छ। यसरी नै कामले तीब्रता पाए तोकिएको समय भन्दा छिटो निर्माण कार्य सकिनेछ,’ उनले भने।
पहिलो खण्डको टनेल निर्माण कार्यको लागि पूर्व-तयारी सकेर टीबीएम मेसिनको पर्खाईँ थियो। ‘यही मेसिनका कारण कामले तीब्रता पाउन सकेको थिएन। अब भने मासिक रुपमा यसरीनै लगभग ५०० मिटरको हाराहारीमा सुरुङ खनिने छ,’ उनले भने।
बरालका अनुसार निर्माण कम्पनीलाई आयोजनाले अबको २ वर्षभित्र सुरुङ खन्ने काम सम्पन्न गर्न निर्देशन दिएको छ। चिनियाँ कम्पनी चाइना ओभरसिजसँग सुरुङमार्ग निर्माण गर्न ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग, श्रमिकको लागि आवासलगायतका पूर्वाधार निर्माण भइसकेका छन्।
हालसम्म आयोजनाको भौतिक प्रगति लगभग ४ प्रतिशत छ। एक अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ।