२०८२ श्रावण २ शुक्रबार

काठमाडौँ । भारतीय र नेपाली व्यवसायीको संयूक्त लगानीमा देशकै ठूलो सेरोमिक्स टायल्स उद्योग खुल्ने भएको छ । भारतको कजरिया सेरामिक्स र नेपालको रमेश कर्पको चार अर्ब लगानीमा टायल्स उद्योग खुल्ने भएको हो ।

नेपालमा ठूलो क्षमताको टायल्स उद्योग स्थापना गर्ने सम्बन्धमा दुई समूहबीच सम्झौता भएको छ । सम्झौतापत्रमा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजरिया सेरामिक्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक कजरियाले हस्ताक्षर गरे ।

कजरिया भारतको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो सेरामिक्स तथा भिट्रिफाइड टायल्स उत्पादक कम्पनी हो । यो कम्पनीका भारतमा उत्तरप्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा गरी आठवटा ठूलो क्षमताका फ्याक्ट्री रहेका छन् ।

नेपालमा स्थापना गर्न लागिएको उद्योगको वार्षिक उत्पादन क्षमता आठ लाख वर्गमिटर हुने सम्झौतमा उल्लेख छ । उद्योगमा दुबै समूहको बराबर अर्थात् ५०÷५० प्रतिशत लगानी हुनेछ । २ अर्ब ५० करोड भारु अर्थात् ४ अर्ब नेपाली रुपैयाँ पुँजीको कम्पनी स्थापना हुने सम्झौतामा उल्लेख छ ।

यो उद्योग तत्कालै निर्माण सुरु गरी सन् २०२३ को अन्त्यसम्म सञ्‍चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ, जहाँ सेरामिक्स र भिट्रिफाइड टायल्स उत्पादन हुनेछ । भोलीका दिनमा नेपालको मागलाई पुरा गरी निर्यातको समेत परिकल्पना गरेर उद्योगमा ठूलो लगानी गर्न लागेको कजरिया सेरामिक्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक कजरियाले बताए ।

कजरियाले थपे– ‘नेपाल हाम्रा लागि सधैं महत्वपूर्ण बजार हो । हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौं र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर