२०८२ असार ३१ मंगलवार

काठमाडौं । बैङ्कहरूसँग अझै पनि लगानी गर्ने रकम पर्याप्त छैन । तरलता अभाव चर्किरहेको छ भन्ने पुष्टि बैङ्कहरूले लिएको सापटीबाट हुन्छ । बैङ्कहरूसँग लगानी गर्ने रकम नभएपछि पटक पटक गरी २२ खर्ब रुपैयाँभन्दा बढी अल्पकालीन सापटी नेपाल राष्ट्र बैङ्कसँग लिएका छन् । बैङ्कहरूले चालु आर्थिक वर्षको तीन महिनामा २२ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ केन्द्रीय बैङ्कसँग अल्पकालीन सापटी लिएका हुन् ।

पटक पटक गरी यो रकम केन्द्रीय बैङ्कले बैङ्कहरूलाई स्थायी तरलता सुविधाको रूपमा उपलब्ध गराएको हो । यसमा ओभरनाइट रिपो ६० अर्ब ४२ करोड बैङ्कहरूले लिएका छन् ।

सरकारी ऋणपत्र धितोमा बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कबाट लिने अल्पकालीन सापटी नै एसएलएफ (स्थायी तरलता सुविधा) हो । सरकारी ऋणपत्रको धितो राखेर यस्तो सापटी ७ दिनसम्मका लागि लिन पाइन्छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् ।

तिहार अघि नै लिएको स्थायी सुविधा यस पटक लामो बिदा परेकाले सात दिनमै भुक्तानी हुन नसकेको मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले बताए । अब कार्यालय खुल्ने वित्तिकै भुक्तानीको प्रक्रियामा जानेछ ।

नेपाल राष्ट्र बैङ्कले लगातार ७ दिन भन्दा बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधाको भुक्तानी अवधि पनि थप हुने व्यवस्था गरेको थियो ।

केन्द्रीय बैङ्कले दशैं तिहार बिदामा तरलता समस्या नहोस् भनेर बैङ्क खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । सोही बमोजिम स्थायी तरलता सुविधाको अवधि सार्वजनिक बिदाका कारण ७ दिनभन्दा माथि गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय