
काठमाडौं । सरकारले चालु वर्षको ३ महिना ६ दिनमा सरकारी खर्च तीन खर्ब रुपैयाँ पुगेको छ। चालु खर्च शीर्षकमा बढोत्तरी हुदाँ खर्च तीन खर्ब पुगेको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आइतबारसम्म सरकारी खर्च २ खर्ब ९९ अर्ब ५९ लाख पुगेको छ। जसमा सबैभन्दा धेरै चालु खर्च शीर्षकमा २ खर्ब ३७ खर्ब खर्च भएको छ।
विकास खर्च भने जम्मा २२ अर्ब हुँदा वित्तीय व्यवस्थातर्फ ३९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। सरकारको प्राप्तिमा भने खर्चको तुलनामा निकै कम देखिएको छ। राजस्व शीर्षकमा २ खर्ब २० अर्ब संकलन गरेको छ।
अन्य शीर्षकमा २३ अर्ब र अनुदान शीर्षकमा ७ अर्ब ९ करोड प्राप्ती गरेको छ। प्राप्तीको तुलनामा खर्च ५५ अर्ब ५४ करोडले बढी छ।
प्राप्तिको तुलनामा खर्च बढी हुनाले सरकारले आन्तरिक ऋणको साहारा लिने तयारी गरेको छ। चालु वर्षमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य सरकारको छ।